आहा रारा पोखरा गोल्ड कपको रजत वर्षमा स्मृतिको तस्बिर यात्रा

Share:

पोखरा । सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष हुँदै आएको आहा रारा पोखरा गोल्ड कपले २५ औं वर्ष पूरा गरेको अवसरमा विशेष फोटो प्रदर्शनी आयोजना गरिएको छ । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजना तथा सहारा क्लब पोखराको सहयोगमा पोखराको महेन्द्रपुलस्थित फल्चामा गरिएको प्रदर्शनीको उद्घाटन दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव पुरुषोत्तम कट्टेलले गरेका थिए ।

उद्घाटन गर्दै महासचिव कट्टेलले फोटो प्रदर्शनीले आहा रारा गोल्ड कपको गौरवशाली इतिहासलाई पुनः स्मरण गराएको बताए । ‘हाम्रो देश अनेक संघर्षबाट गुज्रिरहेको अवस्थामा खेलकुदका यस्ता सकारात्मक गतिविधि र त्यसलाई समेटिएको फोटो प्रदर्शनी समृद्धिको संकेत हो,’ उनले भने, ‘यस्तो काम अत्यन्तै सह्रानीय छ, मैले अरू ठाउँमा यस किसिमको प्रयास देखेको छैन ।’

प्रदर्शनीमा आहा रारा पोखरा गोल्ड कपको सुरुवातदेखि हालसम्मका अविस्मरणीय क्षणहरू समेटिएका १ सय फोटो राखिएको नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले जानकारी दिए । उनका अनुसार तस्बिरमार्फत प्रतियोगिताको २५ वर्षे इतिहास, संघर्ष, उत्साह र गौरवलाई जनसमक्ष प्रस्तुत गरिएको छ । ५० भन्दा बढी फोटोमा मैदानभित्रका गोल, जित-हारका भावनात्मक क्षण, खेलाडीको संघर्ष, समर्थकको उत्साह तथा मैदान बाहिरको फुटबल संस्कृतिसमेत समेटिएको छ ।

पोखरा महानगरपालिका वडा अध्यक्ष दीपेन्द्र मर्सानीले फोटोमा देखिने प्रत्येक दृश्य सत्य हुने भएकाले पत्रकारितामा फोटोको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए । उनले नेपाल फोटो पत्रकार संघ कास्कीका गतिविधिमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता पनि जनाए । सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले प्रदर्शनीले नयाँ पुस्तालाई नेपाली फुटबलको इतिहाससँग जोड्ने र पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्न सहयोग गर्ने बताए । ‘यसले पोखरालाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न योगदान पुर्‍याउने अपेक्षा गरेका छौं,’ उनले भने ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले २५ वर्षसम्म कुनै पनि वर्ष नछुटाइ प्रतियोगिता आयोजना हुनु निरन्तरताको उत्कृष्ट उदाहरण भएको बताए । ‘देशले ६२/६३ को आन्दोलन, २०७२ को भूकम्प र कोरोना महामारी जस्ता कठिन समय भोग्दा पनि आहा रारा गोल्ड कप रोकिएन,’ उनले भने, ‘अब यो प्रतियोगिता अझै सयौं वर्षसम्म निरन्तर चलोस् ।’ उनले प्रतियोगिताको प्रचार-प्रसारमा पत्रकारहरूले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए ।

२०५८ सालमा क्याराभान गोल्ड कपबाट सुरु भएको प्रतियोगिता अहिले २५ वर्ष पुगेको हो । आहा रारा पोखरा गोल्ड कपको २५ औं संस्करण माघ २७ गतेदेखि पोखरा रंगशालामा सुरु हुँदैछ । यसपटक प्रतियोगितामा ३ विदेशी टिम, ‘ए’ डिभिजन क्लब, विभागीय टोली, आयोजकसहित १२ टिमको सहभागिता रहनेछ ।

प्रदर्शनीमा राखिएका फोटोहरू प्रतियोगिता अवधिभर माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा पनि प्रदर्शन गरिने एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङले जानकारी दिए । फल्चाको प्रदर्शनी अवलोकन गर्न नपाएका दर्शकहरूले प्रतियोगिता अवधिभर रंगशालामा फोटो हेर्न सक्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: