
पोखरा । पोखरा महानगरपालिका-२७ रिठेपानीस्थित भण्डारी टोल भलिबल कोर्टमा सम्पन्न नवौं राइजिङ स्टार खुल्ला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक राइजिङ स्टार युथ क्लबले हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा आयोजक टिमले बागलुङको ढोरपाटन समूहलाई पराजित गर्दै १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो। फाइनलमा ढोरपाटन समूहले पहिलो सेट जिते पनि त्यसपछि लगातार दुई सेट गुमाएपछि उपविजेतामा सीमित रहँदै ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
क्लबका अध्यक्ष तिलबहादुर गुरुङ (अनिल)को अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा पोखरा महानगरपालिका-२७ का वडाध्यक्ष तथा क्लबका आजीवन संरक्षक पूर्णकुमार गुरुङ, वडा सदस्य जितेन्द्रबहादुर क्षत्री, क्लबका पूर्व अध्यक्ष यमप्रसाद गुरुङ, संस्थापक अध्यक्ष प्रदीप गुरुङलगायतले विजेता तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए।
विधागततर्फ आयोजक राइजिङ स्टारका सञ्जु विक्रम शाह उत्कृष्ट खेलाडी घोषित भए। यस्तै ढोरपाटनका सञ्जोक परियार उत्कृष्ट सर्भर, जीवन भण्डारी उत्कृष्ट डिफेन्डर, कमल सुनार उत्कृष्ट स्पाइकर, राइजिङ स्टारका विश्वास अधिकारी उत्कृष्ट ब्लकर तथा अशोक ठकुरी उत्कृष्ट सेटर घोषित भए। कार्यक्रमको सञ्चालन क्लबका पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले गरेका थिए । प्रतियोगितामा कुल १५ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।

