
पोखरा । पोखरा महानगरपालिका-१२, पुरानोधारास्थित चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि सहकारीका संस्थापक अध्यक्ष तथा संरक्षक नरेशबहादुर कार्कीले सहकारी शिक्षा कार्यक्रमले सदस्यहरूलाई सहकारीको मूल मर्म र उद्देश्यबारे स्पष्ट बुझाइ दिने बताए।
उनले चापापानी सिद्धार्थ सहकारी कास्कीका उत्कृष्ट सहकारीहरूमध्ये एकका रूपमा चिनिँदै आएको उल्लेख गर्दै सदस्यहरूले आफ्नै सहकारीमार्फत आर्थिक कारोबार गरी संस्थालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहकारीका अध्यक्ष दीपक कार्कीले सहकारी मूल्य र मान्यताअनुसार संस्था सञ्चालन हुँदै आएको बताउँदै पछिल्लो समय सहकारीलाई थप व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गरिएको जानकारी दिए।
सहकारीका सल्लाहकार डा. अनिल सुवेदीले चापापानी सहकारीले हासिल गरेको प्रगतिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अझ बढी उचाइ हासिल गरोस् भन्ने शुभकामना व्यक्त गरे।
त्यस्तै, सहकारीका शेयर सदस्य पुरन श्रेष्ठले संस्थाको स्थापना कालदेखि नै आफू आवद्ध रहेको बताउँदै पोखरा-१२ मात्र नभई समग्र पोखरावासीको विश्वास चापापानी सहकारीप्रति रहेको धारणा राखे।
अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्यामप्रसाद साँखीले स्वागत मन्तव्य व्यक्त गरे भने सहकारीकी व्यवस्थापक करुणा शाहीले हालसम्मको वित्तीय अवस्थाबारे जानकारी गराएका थिए।
कार्यक्रममा सहकारी शिक्षा संयोजक मनोहरी पौडेलले सहकारीका सात सिद्धान्त वाचन गरे भने कार्यक्रम सञ्चालन सहकारीकी सचिव इन्दिरा भण्डारी कोइरालाले गर थिए।


