
पोखरा । पोखरा महानगरपालिका-१ टुँडिखेलमा जारी ‘नवौं विरेन स्मृति तथा १९औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ मा आइतबारदेखि दोस्रो चरणका खेलहरू सुरु भएका छन् ।
बुद्धटोल युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो चरणका ८ वटा खेल सम्पन्न भएको खेल संयोजक रामकाजी गुरुङले जानकारी दिए । अधिकांश खेल बराबरीमा सकिँदा पेनाल्टी सुटआउटले दर्शकलाई रोमाञ्चित बनायो ।
दोस्रो चरणको पहिलो खेलमा दीप युनाइटेड र सम्झना क्लब नयाँगल्लीबीच निर्धारित समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा दीप युनाइटेडले ३–२ गोल अन्तरले जित हात पार्यो ।
त्यसैगरी दोस्रो खेलमा आयोजक बिटी टिम ‘ए’ ले एनएएफसीलाई १-० गोल अन्तरले पराजित गर्दै संघर्षपूर्ण जीत निकालेको छ । आयोजकको जीतमा विकास साईले निर्णायक गोल गरे ।
तेस्रो खेलमा त्रिशक्ति युवा क्लब लाहाचोक र मार्सल ह्वाइटबीचको खेल पनि गोलरहित बराबरीमा सकिँदा पेनाल्टीमा लाहाचोकले ४–३ को जित दर्ता गर्यो ।
चौथो खेलमा मार्सल ब्ल्याक र एट टु नाइन एफसीबीचको प्रतिस्पर्धा पनि बराबरीमै टुंगिएपछि एट टु नाइन एफसीले पेनाल्टीमा ३–२ गोल अन्तरले बाजी मार्यो ।
पाँचौं खेलमा रामघाट ग्रीन र बानियाँ ब्रदर्सबीच १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा रामघाट ग्रीन ३–२ ले विजयी बन्यो ।
छैटौं खेलमा भने रामघाट ह्वाइट ले तालपारी एफसीलाई २–१ गोल अन्तरले हरायो । रामघाटको जीतमा मनिष तामाङले दुई गोल गरे भने तालपारीका लागि निखिल रानाले एक सान्त्वना गोल गरे ।
सातौं खेलमा लामागाउँ गुम्बा ‘टिम बि’ ले मसिना एफसीलाई २–० गोल अन्तरले पराजित गर्यो । लामागाउँको जितमा युनिक तामाङ र दिवस छन्त्यालले समान एक–एक गोल गरे ।
दिनको अन्तिम खेलमा लामागाउँ गुम्बा ‘टिम ए’ ले बेस्ट ब्वाइज भिमादलाई २–० ले हराउँदै उत्कृष्ट प्रदर्शन गर्यो । उक्त खेलमा संगम गुरुङ र एलिश तामाङले एक–एक गोलको योगदान दिए ।
क्लब अध्यक्ष सन्तोष गुरुङका अनुसार प्रतियोगिताको दोस्रो चरणका खेलहरू सोमबार बिहान ८ बजेदेखि पुनः सञ्चालन हुनेछन् ।
प्रतियोगिताको विजेताले २ लाख २ सय २२ रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
