
पोखरा । स्थानीय तहअन्तर्गत कास्की जिल्लाका तीनवटा पालिकामा नेपाल शिक्षक संघको सातौँ प्रतिनिधि सभा एकैदिन सम्पन्न भएको छ । ऐतिहासिक रूपमा पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका र मादी गाउँपालिकामा विभिन्न रचनात्मक कार्यक्रमसहित प्रतिनिधि सभा सफलतापूर्वक सम्पन्न गरिएको हो ।
पोखरा महानगरपालिका शिक्षक संघले प्रतिनिधि सभाको अवसरमा शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले “शिक्षण-सिकाइ पद्धतिमा श्रव्यदृश्य सामग्री तथा एआई प्रविधिको प्रयोग” विषयक विशेष प्रशिक्षण सञ्चालन गरेको थियो । उक्त प्रशिक्षणको सहजिकरण शिक्षक दिपेन्द्र बस्ताकोटी र शिक्षिका निर्मला मानन्धरले गरेका थिए।
कार्यक्रममा निवृत्त शिक्षकहरूलाई सम्मान तथा नवप्रवेशी शिक्षकहरूलाई स्वागत गरिएको थियो। सभामा बोल्ने वक्ताहरूले शिक्षण पेशामा देखिएका समस्या र चुनौतीहरू समाधान गर्न शिक्षकहरूबीच सहकार्य, आपसी सहयोग र सम्मान अत्यावश्यक रहेको धारणा व्यक्त गरे।
देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको सन्दर्भमा शिक्षकले समाजलाई सही दिशामा मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै, शिक्षा ऐनमार्फत देशको शैक्षिक नीति र व्यवस्थामा समयसापेक्ष सुधार आवश्यक रहेको वक्ताहरूको जोड थियो।
सभामा नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछाने, जिल्ला अध्यक्ष राजु क्षेत्री, नेपाल शिक्षक महासंघका प्रदेश, जिल्ला तथा महानगर प्रतिनिधिहरू, नेपाल शिक्षक संघका विभिन्न संगठनका प्रतिनिधि, नेपाल ट्रेड युनियन काङ्ग्रेसका प्रतिनिधि, शिक्षा ज्योति सहकारीका सञ्चालक, विभिन्न विद्यालयका प्रधानाध्यापक, निवर्तमान पदाधिकारी तथा शिक्षकहरूले आ-आफ्ना धारणा व्यक्त गरेका थिए।
नेपाल शिक्षक संघ पोखरा महानगर कार्यसमितिका अध्यक्ष किरणबाबु न्यौपानेको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सचिव नवराज आचार्यले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष शर्मिला बराल सापकोटाले दिएका थिए । कार्यक्रममा अर्थ सचिव श्रीराम बरालले आर्थिक प्रतिवेदन र अध्यक्ष न्यौपानेले सांगठनिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। सभाको समापन सहसचिव निरु केसीले धन्यवाद ज्ञापन गर्दै गरेका थिए।
यसअघि माघ २२ गते कास्की जिल्लाका रूपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाका नेपाल शिक्षक संघले पनि सातौँ प्रतिनिधि सभा सम्पन्न गरिसकेका छन्।
