
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले मतदान केन्द्र नमुना अभ्यास सञ्चालन गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा भयरहित बनाउने उद्देश्यले उक्त अभ्यास आयोजना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार कास्कीका प्रहरी कर्मचारी तथा निर्वाचन प्रहरीलाई लक्षित गर्दै नमुना अभ्यास गराइएको हो ।
“हामीले हाम्रो मातहतका सबै प्रहरी कार्यालयमा यो अभ्यास गराइसकेका छौँ । कास्की जिल्लाभर रहेका ७७ वटा प्रहरी युनिटमा पनि पुनः नमुना अभ्यास सञ्चालन गरिनेछ,” एसपी कार्कीले भने, “निर्वाचनका बेला ड्युटीमा खटिँदा आफ्नो भूमिका र जिम्मेवारीबारे कुनै अन्योल नहोस् भन्ने उद्देश्यले यो अभ्यास गरिएको हो । निर्वाचनका लागि हाम्रो तयारी भव्य रूपमा अगाडि बढिरहेको छ । शान्तिपूर्ण निर्वाचन गराउनु सबैको साझा दायित्व हो ।”
हाल निर्वाचन प्रहरीका लागि विशेष प्रशिक्षण कार्यक्रमसमेत सञ्चालनमा रहेको उनले जानकारी दिए ।नमुना अभ्यास वडा प्रहरी कार्यालय बगर, बैदाम, रामबजार तथा इलाका प्रहरी कार्यालय डाँडाको नाक लगायतका स्थानमा सञ्चालन गरिएको थियो ।
अभ्यासका क्रममा निर्वाचन प्रहरीलाई निर्वाचन सुरक्षा व्यवस्था, नमुना मतदान केन्द्र निर्माण, स्थल अवलोकन तथा मतदान प्रक्रियासम्बन्धी व्यावहारिक अभ्यास गराइएको प्रहरीले जनाएको छ । यस प्रकारको अभ्यासले निर्वाचन अवधिमा सुरक्षा व्यवस्थापन सुदृढ हुनुका साथै मतदान प्रक्रियालाई व्यवस्थित र सुरक्षित बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।
