
पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ का उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ चुनावी अभियानका क्रममा घाइते भएका छन् । आइतबार अपराह्न पोखरा-११, फूलबारीमा मतदातासँग घरदैलो र भेटघाट गर्ने क्रममा सिँढीबाट चिप्लिएर लड्दा उनी घाइते भएका हुन् । आफ्नै गृहक्षेत्र फूलबारीमा चुनावी प्रचारमा व्यस्त रहेका बास्तोलाको लडेर देब्रे हात भाँच्चिएको छ । उनलाई तत्कालै पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल लगिएको र हाल त्यहाँ उनको उपचार भइरहेको निर्वाचन सचिवालयले जनाएको छ ।
उपचारको क्रममा रहे पनि बास्तोलाले आफ्नो चुनावी अभियानलाई कुनै असर पर्न नदिने बताएका छन् । निर्वाचन सचिवालयका अनुसार उम्मेदवार घाइते भए पनि यसअघि तय गरिएका कुनै पनि कार्यक्रमहरू रोकिने छैनन् । उनले अस्पतालको शैय्याबाटै आफ्ना शुभचिन्तक र मतदाताहरूलाई विचलित नहुन आग्रह गर्दै अभियानलाई निरन्तरता दिन निर्देशन दिएका छन् ।
राजनीतिक जीवनमा बास्तोलाका लागि यो पहिलो शारीरिक चोट भने होइन । उनी यसअघि पनि एक भयानक सडक दुर्घटनाबाट मृत्युलाई जितेर फर्किन सफल भएका योद्धा हुन् । नेपाली कांग्रेसको १२ औं महाधिवेशन सकेर काठमाडौंबाट फर्किने क्रममा मुग्लिन नजिकै भएको गाडी दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए ।
त्यतिबेला गाडीमा सवार ३ जना सहयोद्धाको निधन हुँदा उनी र मदन केसी मात्र बाँच्न सफल भएका थिए । उक्त दुर्घटनामा सातवटा करङ भाँचिएका कारण उनले एक वर्षभन्दा बढी समय ओछ्यानमै थलिएर उपचार गर्नुपरेको थियो । कठिन परिस्थितिमा पनि हार नमान्ने स्वभावका बास्तोला अहिले हात भाँच्चिँदा पनि उत्तिकै सक्रियताका साथ चुनावी मैदानमा उभिएका छन् ।
क्षेत्र नम्बर २ मा प्रभावशाली उम्मेदवारका रूपमा देखिएका बास्तोला घाइते भएपछि यतिबेला फूलबारी र सिंगो कास्कीमा कांग्रेस कार्यकर्ता र शुभचिन्तकहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । सचिवालयले भनेको छ, “हाम्रो अभियान यथावत छ, माधव दाइ छिट्टै प्लास्टरसहित मैदानमा फर्किनुहुनेछ।”
