भारतीय पर्यटन प्रवर्द्धन अभियन्तासँग पोखरामा छलफल, बिहार-पोखरा पर्यटन सहकार्य विस्तारमा जोड

Share:

पोखरा। पोखरा तथा गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले भारतको बिहार क्षेत्रका वरिष्ठ पर्यटन प्रवर्द्धन अभियन्तासँग सोमबार पोखरामा विस्तृत छलफल गरिएको छ। बिहारबाट पोखरा हुँदै हिमालपारिको जिल्ला मुस्ताङका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गरी फर्किएको भारतीय टोलीसँग पोखरा पर्यटन परिषद् तथा पर्यटनसम्बद्ध संघ-संस्थाका प्रतिनिधिबीच अन्तरक्रिया भएको हो। छलफलमा टुरिज्म एसोसिएसन अफ बिहारका अध्यक्ष सोनुकुमार सिंह, ट्राभल इन्फ्लुएन्सर तथा अनडिस्कोभर्ड भेन्चर्स प्रालिका निर्देशक आशिष कौशिक, सोही संस्थाका निर्देशक एवं सह-संस्थापक अभिनाश कौशिक तथा फोटोग्राफर सुनिल शर्मा सहभागी थिए।

कार्यक्रममा भारतीय टोलीले मुस्ताङसम्मको यात्राका क्रममा तयार पारेको प्रचारात्मक भिडियो प्रस्तुत गरेको थियो। साथै, पोखरा भ्रमण वर्ष २०२५ ले तयार गरेको गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य समेटिएको भिडियो पनि प्रदर्शित गरिएको थियो। छलफल कार्यक्रमका अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले पोखरा र समग्र गण्डकी प्रदेश भारतीय पर्यटकका लागि अत्यन्त आकर्षक गन्तव्य भएको उल्लेख गर्दै यसको प्रवर्द्धनमा सहकार्य गर्न भारतीय टोलीसँग आग्रह गरे।

प्राकृतिक सौन्दर्यसँगै उत्कृष्ट आतिथ्य सेवाका कारण पोखरा अग्रणी गन्तव्यको रूपमा स्थापित भएको उनको भनाइ थियो। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा तथा आसपासका गन्तव्यको प्रवर्द्धनमा भारतीय टोलीको सहयोग अपेक्षित रहेको बताए।

विहारबाट हतारमा सिधै हिमाली गन्तव्यतर्फ जानु पर्यटकको स्वास्थ्यका लागि जोखिमपूर्ण हुने उल्लेख गर्दै उनले पोखरामा केही समय विश्राम गर्दै यहाँका पर्यटकीय स्थलको अवलोकनपछि हिमाली क्षेत्रतर्फ जान उपयुक्त हुने धारणा राखे। साथै, कतिपय भारतीय सवारीसाधनले कानुनविपरीत व्यवसायिक गतिविधि गर्ने प्रयास गरेकोतर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता गतिविधि नियन्त्रण आवश्यक रहेको बताए।

परिषद्का पूर्व अध्यक्ष सोम थापाले कुनै पनि गन्तव्यको प्रचारप्रसारमा ट्राभल इन्फ्लुएन्सरको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै पोखरा र गण्डकी प्रदेशका पर्यटकीय स्थलको प्रचारमा सहयोग गर्न आग्रह गरे। यहाँ रहेका विविध गन्तव्यलाई समय लिएर घुम्ने वातावरण निर्माणमा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

टुरिज्म एसोसिएसन अफ बिहारका अध्यक्ष सोनुकुमार सिंहले गण्डकी प्रदेशमा धेरै सुन्दर र सम्भावनायुक्त गन्तव्य रहेको उल्लेख गर्दै यसको प्रवर्द्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। ठूलो जनसंख्या भएको बिहारबाट पर्यटक आकर्षित गर्न सकिए पोखरा र समग्र गण्डकी प्रदेश लाभान्वित हुने उनको भनाइ थियो। साथै, पटना-पोखरा सिधा यातायात सेवा सुरु भए पर्यटक आगमन उल्लेखनीय रूपमा बढ्ने विश्वास व्यक्त गरे।

ट्राभल इन्फ्लुएन्सर अभिषेक कौशिक लगायतले मार्फा लगायतका स्थानहरू उत्कृष्ट गन्तव्यका रूपमा अनुभव गरेको सुनाउँदै ती गन्तव्यको भिजुअल कन्टेन्टमार्फत अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्ने जानकारी गराए। छलफलमा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले भारतीय पर्यटकको बसाइ अवधि लम्ब्याउन उपयुक्त वातावरण र प्याकेज निर्माणमा जोड दिए।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्षहरू टिकाराम सापकोटा, चिरञ्जीवी पोखरेल, पूर्व अध्यक्ष तथा पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपिबहादुर भट्टराई, पर्यटनसम्बद्ध संघ-संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: