पोखरामा आहा रारा गोल्ड कप सुरु: आयोजकको विजयी सुरुआत, गोर्खा एफसी पराजित

Share:

पोखरा । पोखराको खेलकुद पहिचान बनेको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २५औँ संस्करण मंगलबारदेखि भव्य रूपमा सुरु भएको छ। सहारा क्लब पोखराको आयोजनामा फागुन ९ गतेसम्म सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रण प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे।

उद्घाटन समारोहमा बोल्दै मेयर धनराज आचार्यले पोखरामा आयोजना हुने यस्ता खेलकुद इभेन्टहरूले खेल क्षेत्रको विकाससँगै पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान दिने बताए। उनले आहा रारा गोल्ड कप पोखराको ब्रान्ड भइसकेको उल्लेख गर्दै महानगरपालिकाको साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सुरु भएको रजत जयन्ती संस्करणको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ। यस वर्ष प्रतियोगिता सन्ध्याकालीन समयमा फ्लड लाइटमा खेलाइनु विशेष आकर्षण बनेको छ।

पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले हङकङको गोर्खा फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ। सहाराको जितमा प्रशन्न श्रेष्ठ नायक बने। उनले दोस्रो हाफको अतिरिक्त समयमा गरेको शानदार गोल निर्णायक बन्यो।

खेलको पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। दोस्रो हाफमा आक्रामक खेल देखिए पनि गोलका लागि अन्तिम क्षणसम्म कुर्नुपर्‍यो। खेलको ९३औँ मिनेटमा आशिष गुरुङको थ्रोबाट आएको बललाई गोर्खा एफसीका खेलाडीले क्लियर गरे पनि प्रशन्नले डिबक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार सेकेन्ड बार हुँदै जाली चुमेपछि पोखरा रंगशाला उत्साहले गुञ्जायमान बनेको थियो।

प्रतियोगिताको विजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। रजत जयन्तीको अवसरमा सहारा क्लबले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ। उद्घाटन सत्रमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी प्रीति राईलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो। साथै, प्रतियोगिताको २५ वर्षे यात्रामा योगदान पुर्‍याउने २५ जनालाई पनि विशेष सम्मान प्रदान गरिएको छ।

बुधबार जाउलाखेल युवा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितालाई हिमश्री फुड्सका उत्पादन आहा तथा रारा तयारी चाउचाउले प्रायोजन गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: