बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल बिहीबार हुने

Share:

पोखरा । पोखरा महानगरपालिका-१ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा दीप युनाइटेड, रामघाट निलो, लामागाउँ गुम्बा ‘टिम बी’ र फायर पिज्जा एफसीले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

क्लबका अध्यक्ष सन्तोष गुरुङका अनुसार आज (बुधबार) भएको पहिलो क्वाटरफाइनल खेलमा दीप युनाइटेडले आयोजक बिटी ‘टिम ए’ लाई २–० गोल अन्तरले पराजित गर्दै दीप अन्तिम चारमा प्रवेश गर्यो ।

दीपको जीतमा सोभित भण्डारी र लोकेन छन्त्यालले समान १/१ गोल गरे । उक्त खेलबाट दीप युनाइटेडका अमित गुरुङ म्यान अफ द म्याच बने । यसैगरी दोस्रो खेलमा रामघाट निलोले एमटियुसीलाई १–० गोल अन्तरले हरायो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एमटियुसीका विमल ठकुरीको आत्मघाती गोलका कारण एमटियुसी क्वाटरफाइनलबाटै बाहिरियो । सो खेलबाट रामघाटका रोशन नेपाली म्यान अफ द म्याचबाट पुरस्कृत बने ।

तेस्रो खेलमा लामागाउँ गुम्बा ‘टिम बी’ले बिटी क्लब ‘टिम बि’माथी २–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । लामागाउँको जीतमा सरोज गुरुङ र दिवस छन्त्यालले समान समान १/१ गोलको योगदान दिए । उक्त खेलबाट लामागाउँका सरोज तितुङ म्यान अफ द म्याच बने ।

आज भएको अन्तिम क्वाटरफाइनल खेलमा डेभिजफल्स क्लबमाथी फायर पिज्जाले ५–० को फराकिलो गोल अन्तरले सहजै जीत निकाल्यो । फायर पिज्जाको जीतमा म्यान अफ द म्याच बनेका मनिष ठकुरीले ह्याट्रिक पूरा गरे भने, अंकित गुरुङ र मनोज गुरुङले समान १/१ गोल गरे ।

बुधबार बिहान ७ बजे पहिलो सेमिफाइनल खेल दीप युनाइटेड र रामघाट निलोबीच हुने खेल संयोजक निकेश गुरुङले जानकारी दिए । उनका अनुसार दोस्रो सेमिफाइनल खेल लामागाउँ गुम्बा ‘टिम बी’ र फायर पिज्जाबीच बिहान ८ बजे प्रतिस्पर्धा हुनेछ ।

कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको फाइनल खेल दिउँसो २ बजे हुने संयोजक गुरुङले बताए । उनका अनुसार प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: