
पोखरा । कास्की प्रहरीले ब्राउन सुगर (खैरो हिरोइन) सहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका-११ जनजागृति टोलमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा गरिएको संयुक्त कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त टोलीले गत सोमबार अपराह्न करिब ४ बजे छापा मार्दा २४ दशमलव १५ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा पोखरा-११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका-४ स्थायी घर भई हाल पोखरा-११ बस्दै आएका ४४ वर्षीय विश्वास गुरुङ तथा म्याग्दी मालिका गाउँपालिका-६ स्थायी घर भई हाल पोखरा-३१ मोहरियामा बस्ने ४१ वर्षीया गंगा पुर्जा रहेका छन्।
प्रहरीले उनीहरूको शरीर तथा डेराबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २४.१५ ग्राम, डिजिटल तराजु १ थान, नगद रु. १ लाख ४२ हजार तथा विभिन्न कम्पनीका ४ थान मोबाइल बरामद गरेको जनाएको छ। पक्राउ परेका तीनै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
