पोखरामा ‘रवि क्रेज’: “कास्कीका उम्मेदवारको जिम्मा म लिन्छु, काम नगरे अर्को पटक भोट माग्न आउँदैनौँ”

Share:

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चुनावी दौडाहाले बुधबार पर्यटकीय नगरी पोखरामा नयाँ तरंग पैदा गरेको छ। कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभाहरूमा समर्थकहरूको बाक्लो उपस्थितिका बीच लामिछानेले आफ्ना उम्मेदवारहरूको पूर्ण जिम्मेवारी लिने घोषणा गरे।

दिउँसो १ बजे बेगनासतालबाट सुरु भएको लामिछानेको घरदैलो तथा भेटघाट कार्यक्रम हेम्जा मिलनचोक हुँदै पृथ्वीचोकमा पुगेर समापन भएको थियो। लामिछानेले प्रत्येक चुनावी सभामा रुफटप गाडीबाटै समर्थकहरूलाई सम्बोधन गर्दै कास्की क्षेत्र नम्बर १ का उम्मेदवार गणेश पौडेल (खडकराज पौडेल), क्षेत्र नम्बर २ का उत्तम पौडेल र क्षेत्र नम्बर ३ की बिना गुरुङको जिम्मा आफूले लिने बताए।

“हामीलाई एक पटक विश्वास गरेर हेर्नुहोस्। यदि हाम्रा उम्मेदवारले काम गर्न सकेनन् भने हामी अर्को पटक तपाईंसँग भोट माग्न आउने छैनौँ,” लामिछानेले तीनवटै क्षेत्रका मतदातामाझ यो प्रतिबद्धता दोहोर्याए।

पृथ्वीचोकमा शक्ति प्रदर्शन

पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुंगामा यसअघि अन्य राजनीतिक दलको सभामा स्थानीय व्यापारीले अवरोध गरेका कारण सम्भावित विवाद टार्न रास्वपाले आफ्नो कार्यक्रम स्थल परिवर्तन गरेको थियो। चिप्लेढुंगाको भेटघाट रद्द गरी पृथ्वीचोकमा सारिएको कार्यक्रममा समर्थकहरूको उत्साहजनक सहभागिता देखिएको थियो। साँझको समयमा सडक किनारमा उभिएका हजारौँ समर्थकले ‘रवि दाई हाइहाई’ भन्दै नारा लगाएका थिए।

तालचोकमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले पुराना राजनीतिक दलहरूको कार्यशैलीमाथि कडा प्रहार गरे। “हामीलाई अब भाषण होइन, परिणाम चाहिएको छ,” उनले भने, “३० वर्षदेखि एउटै कथा सुन्दै आएका छौँ- विकास हुन्छ, सुशासन हुन्छ। तर अब जनता झुक्किने वाला छैनन्। राजनीति कमाउने माध्यम होइन, सेवा गर्ने जिम्मेवारी हो।”

लामिछानेले शिक्षा, स्वास्थ्य र स्थानीय पूर्वाधारको दयनीय अवस्थाका कारण जनताको भरोसा टुट्दै गएको दाबी गरे। रास्वपाले सुशासन, पारदर्शिता र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “घण्टी परिवर्तनको संकेत हो। अब देशमा नयाँ पुस्ताले नेतृत्व लिने समय आइसकेको छ।”

कास्कीका तीनवटै उम्मेदवारहरू स्वच्छ छवि भएका र काम गर्न सक्ने व्यक्तित्व भएको दाबी गर्दै लामिछानेले यसपटक पोखरेली जनताले विवेकपूर्ण निर्णय लिनेमा आफू विश्वस्त रहेको बताए।

कमेन्ट गर्नुहोस्
Share: