
पोखरा । नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको अध्यक्षमा लक्ष्मण बहादुर थापा निर्वाचित भएका छन्। बुधबार सम्पन्न क्लबको पाँचौँ अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिअन्तर्गत उपाध्यक्षमा मित्रलाल बास्तोला, सचिवमा प्रेम तिमिल्सिना र कोषाध्यक्षमा हरीप्रसाद पहारी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा रविन अधिकारी, ओमित गुरुङ, ईस्का राई, राम तामाङ र राजेश गिरी निर्वाचित भएका छन्।
अधिवेशन उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले प्याराग्लाइडिङले पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउन तथा साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले पोखरामा आउने पर्यटकहरूको पहिलो रोजाइमध्ये एक प्याराग्लाइडिङ भएकाले यसको दीगो विकास र प्रवर्द्धनमा सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिए।
क्लबका अध्यक्ष दीपक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव प्रेम तिमिल्सिनाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुमन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। नवनिर्वाचित अध्यक्ष लक्ष्मण बहादुर थापाले आगामी कार्यकालमा पाइलटहरूको हक, हित र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
“उडान मापदण्ड र सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउँदै टेकअफ र ल्यान्डिङ क्षेत्रको दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय तहसँग सहकार्य गरी स्थायी पूर्वाधार विकासमा जोड दिनेछौं,” उनले भने। थापाले पाइलटहरूको बीमा, पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी स्पष्ट नीति निर्माणका लागि पहल गर्ने तथा नयाँ पाइलटहरूको क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता बढाउन तालिम, प्रशिक्षण र प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए।
वि.सं. २०७३ भदौ ८ गते जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता भई स्थापना भएको नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबले पाइलटहरूको हक, हित र सुरक्षाको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको छ। हालसम्म ४ सय १२ जना नेपाली पाइलटहरूले टेन्डम लाइसेन्स प्राप्त गरिसकेका छन्, जसले पोखरालाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।
