
पोखरा। फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले मतदाता भेटघाट, अन्तरक्रिया र सुझाव संकलन अभियानलाई तीव्रता दिएका छन्। बिहीबार उनले पोखरा महानगरपालिका-२० अन्तर्गत मौजा र मोहोरियाका स्थानीय मतदातासँग छलफल गर्दै विकासका एजेन्डा प्रस्तुत गरे।
उम्मेदवार आचार्यले पोखराको समग्र विकासका लागि विशिष्ट विशेषतामा आधारित स्पष्ट नीति र मोडल तयार गरेको बताउँदै “डेस्टिनेसन प्याराडाइज” अवधारणा अघि सारे। पोखरालाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित ल्याइएको उक्त अवधारणाअन्तर्गत “लिङ्क पोखरा, मार्क पोखरा र ट्विट पोखरा” अभियान सञ्चालन गरिने उनले जानकारी दिए।
उनका अनुसार “लिङ्क पोखरा” अवधारणाले ग्रामीण भेग र मुख्य शहरी क्षेत्रलाई पर्यटनमार्फत आपसमा जोड्दै भौतिक तथा पर्यटकीय विकासमा नयाँ उभार ल्याउनेछ। यसैगरी “मार्क पोखरा” मार्फत विद्यमान पर्यटकीय गन्तव्यहरूको पहिचान, विकास र व्यवस्थापनलाई व्यवस्थित ढंगले अघि बढाइनेछ।
त्यस्तै, “ट्विट पोखरा” अभियानमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी प्रचारप्रसार गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने योजना रहेको उनले बताए। यस अभियानमा स्थानीय समुदायको सक्रिय सहभागिता रहने उनको भनाइ थियो।
वडा नं. २० का विभिन्न टोलबस्तीमा सुझाव संकलन गर्दै आचार्यले जनताको साथ र विश्वासका आधारमा अब्बल जनप्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी नीति कार्यान्वयनमार्फत नयाँ युवा पुस्ताको युग निर्माण सम्भव हुने उनले उल्लेख गरे।
चुनावपछि पनि नियमित कार्यतालिका बनाएर वडावासीसँग प्रत्यक्ष संवाद कायम राख्ने प्रतिबद्धता जनाउँदै उनले जनताको भावना र सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। उत्साहपूर्ण सहभागिताबीच सुझाव संकलनमा सक्रिय आचार्य विद्यार्थी राजनीतिबाट उदाएका ऊर्जाशील युवा नेताका रूपमा परिचित छन्।
