कास्कीमा निर्वाचन रिपोर्टिङसम्बन्धी दुई दिने तालिम सम्पन्न

Share:

पोखरा। निर्वाचनसम्बन्धी समाचारलाई तथ्यपरक, निष्पक्ष र जिम्मेवार ढंगले प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना गरिएको दुई दिने निर्वाचन रिपोर्टिङ तालिम पोखरामा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि सुरु भएको तालिम समापन गरिएको हो।

तालिम समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार बिमला भण्डारीले निर्वाचन लोकतन्त्रको उत्सव भएकाले यस अवधिमा पत्रकारहरूले विशेष संवेदनशीलता अपनाउँदै निष्पक्ष र सत्य समाचार जनतामाझ पस्कनुपर्ने बताइन्। उनले स्वच्छ, शान्त र निष्पक्ष निर्वाचनका लागि आमसञ्चारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता सान्दर्भिक तालिम आयोजना गरेकोमा महासंघ कास्कीलाई धन्यवाद व्यक्त गरिन्।

सहभागी पत्रकारहरू शिशिर पौडेल, खिमा गुरुङ र तिलक पुनले तालिमबाट निर्वाचन प्रक्रिया, कानुनी व्यवस्था र प्रभावकारी रिपोर्टिङबारे महत्वपूर्ण जानकारी प्राप्त भएको बताउँदै सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए।

तालिममा गण्डकी प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकाल, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, समाधान दैनिकका प्रधान सम्पादक भरत कोइराला, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डे तथा कास्की निर्वाचन क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत दीपक गिरीले विभिन्न विषयमा प्रस्तुतीकरण दिएका थिए।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले निर्वाचनलाई भयरहित र धाँधलीरहित बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सोही उद्देश्यले तालिम आयोजना गरिएको बताए। उनले पत्रकारिता सधैं देश र जनताको पक्षमा उभिनुपर्नेमा जोड दिए।

विभिन्न सञ्चारमाध्यममा आबद्ध ७५ जना पत्रकार सहभागी तालिममा निर्वाचनसम्बन्धी कानुन, निर्वाचन प्रक्रिया, पत्रकार आचारसंहिता, निर्वाचन सुरक्षा संवेदनशीलता लगायतका विषय समेटिएको सहसचिव तथा प्रचार विभाग प्रमुख मधु अधिकारीले जानकारी दिए। महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भूपाल गुरुङले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: