
पोखरा। पर्यटकीय सहर पोखराको मुटु मानिने पोखरास्थित फेवातालमा माछा मार्ने क्रममा गोली लोड गरिएको ‘सेल्फ लोडिङ राइफल (एसएलआर)’ फेला परेपछि सनसनी फैलिएको छ। बिहीबार दिउँसो पोखरा महानगरपालिका-१८ खपौदीमा ४२ वर्षीय स्थानीय कुमार जलारीले तालमा जाल हान्दा गह्रौँ वस्तु अड्किएको महसुस गरेका थिए। जाल तानेर बाहिर निकाल्दा गोलीसहितको एसएलआर राइफल देखिएपछि उनले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट संयुक्त टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार बरामद हतियारमा ‘मु वा १११ ९बट० नम्बर बडी नं. १३८१०’ उल्लेख छ। उक्त एसएलआरमा १८ राउण्ड गोली लोड गरिएको म्यागजिनसमेत भेटिएको छ।
कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतद्वारा जारी विज्ञप्तिमा “माछा मार्ने जालमा अड्किएर एसएलआर राइफल र गोली लोड भएको म्यागजिन बाहिर निस्किएको देखिन्छ, बरामद हतियारबारे प्रारम्भिक अनुसन्धान गरी थप प्रक्रिया अगाडि बढाइएको छ,” उल्लेख गरिएको छ।
कसरी पुग्यो तालको गहिराइमा ?
सुरक्षा निकायले मात्र प्रयोग गर्ने परिष्कृत हतियार तालको गहिराइमा कसरी र कहिले पुग्यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ। द्वन्द्वकालीन समयमा फालिएको हुन सक्ने वा पछिल्लो समय कुनै आपराधिक समूहले लुकाएको हुन सक्ने दुवै कोणबाट अनुसन्धान भइरहेको छ।
ज्ञातव्य छ, माओवादी द्वन्द्वकाल (२०५२/२०६३)मा नेपाली सेनाले ७.६२ एमएम क्यालिबरको एसएलआर प्रयोग गरेको थियो। त्यसबेला विद्रोही समूहले सुरक्षा निकायमाथि आक्रमण गरी ठूलो संख्यामा यस्ता हतियार कब्जा गरेका घटनाहरू सार्वजनिक भएका थिए।
द्वन्द्व अन्त्यपछि धेरै हतियार प्रमाणीकरण गरिए पनि केही हराएको वा लुकाइएको आशंका समय-समयमा उठ्दै आएको छ। हाल भने नेपाली सेनाले एम-१६ राइफल प्रयोग गर्दै आएको छ।
फेवातालजस्तो पर्यटकीय केन्द्रमा गोली लोड गरिएको हतियार फेला पर्नु सुरक्षा संवेदनशीलतासँग जोडिएको विषय भएकाले अनुसन्धानको नतिजातर्फ सर्वसाधारणको चासो बढेको छ। प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै स्रोत र पृष्ठभूमि पहिल्याउने प्रयास गरिरहेको जनाएको छ।
