सिँढीबाट लडेका कांग्रेसका उम्मेदवार ‘मधु’ ५ दिनमै मैदानमा फर्किँदै, फागुन ३ देखि घरदैलो अभियान पुनः सुरु

Share:

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) अस्पतालबाट डिस्चार्ज भएका छन्। चुनावी अभियानका क्रममा सिँढीबाट लडेर घाइते भएका उनी ५ दिनको उपचारपछि शुक्रबार घर फर्किएका हुन्।

माघ २६ गते आइतबार साँझ नागरिक भेटघाट र चुनावी कार्यक्रमकै क्रममा सिँढीबाट चिप्लिँदा उनको बायाँ हातको नाडीमाथिको हड्डी (रेडियस) भाँचिएको थियो। घाइते भएपछि उनलाई मणिपाल शिक्षण अस्पताल, फूलबारीमा भर्ना गरिएको थियो। अस्पतालका निर्देशक प्रा.डा. अभिषेक मास्केका अनुसार सोही दिन उनको सफल शल्यक्रिया गरिएको थियो। पाँच दिनको नियमित उपचार र चिकित्सकीय निगरानीपछि स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज गरिएको जनाइएको छ।

अस्पताल बसाइका क्रममा बास्तोलाले शारीरिक चोटले आफ्नो राजनीतिक प्रतिबद्धता कमजोर नबनाउने बताएका थिए। “तपाईंहरूको साथ, विश्वास र शुभेच्छाले मेरो आत्मबल झनै मजबुत बनेको छ,” भन्दै उनले मतदाता, पार्टी नेतृत्व, कार्यकर्ता र परिवारप्रति आभार व्यक्त गरेका छन्।

सचिवालयका अनुसार उनी फागुन ३ गते शनिबारदेखि पुनः सशक्त रूपमा घरदैलो अभियानमा फर्किनेछन्। कास्की-२ का विभिन्न स्थानमा आयोजना हुने भेटघाट र चुनावी सभामा उनी प्रत्यक्ष सहभागी हुने कार्यक्रम छ।

उनको अनुपस्थितिमा पनि प्रतिनिधि र कार्यकर्ताहरूले अभियानलाई निरन्तरता दिएका थिए। अब उनी आफैँ मैदानमा उत्रिने भएपछि समर्थकहरूमा थप उत्साह छाएको बताइएको छ। नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका बास्तोलाले लोकतान्त्रिक मूल्य, जनसंवाद र विकासको एजेन्डालाई थप मजबुत बनाउँदै अघि बढ्ने विश्वास दिलाएका छन्।

कमेन्ट गर्नुहोस्
Share: