
पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’मा निर्माता तथा अभिनेत्री माया गुरुङले ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेकी छन्।
आरारारा पोखरा गोल्डकपमा सहभागी हुन पोखरा आएकी गुरुङले शुक्रबार आफ्ना छोरा हिमाल गुरुङसँगै संघका कास्की अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेकी हुन्।
सहारा क्लब पोखरासँग आबद्ध गुरुङ क्लबकी सल्लाहकारसमेत हुन् भने गुरुङ फिल्म एसोसियसन हङकङकी अध्यक्षका रूपमा सक्रिय छिन्। उनको निर्माणमा बनेको नेपाली चलचित्र ‘पेन्सनपट्टा’ छिट्टै प्रदर्शनको तयारीमा रहेको जनाइएको छ।
गुरुबका छोरा हिमाल गुरुङ हङकङस्थित गोर्खा इन्टरनेशनल फुटबल क्लबबाट खेल्दै आएका छन्। आमा-छोरा दुवै गोल्डकपको अवसर पारेर नेपाल आएका थिए।
सहयोग ग्रहणपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले अभिनेत्री गुरुङप्रति आभार व्यक्त गर्दै विभिन्न दाताहरूको योगदानले अक्षयकोष सुदृढ बन्दै गएको बताए। उनले कोषबाट संकलित रकम फोटो पत्रकारहरूको वृत्तिविकास, तालिम तथा पेशागत सुदृढीकरणमा खर्च गरिने जानकारी दिए।
यसअघि सामाजिक अभियान्ता सरिता गुरुङले १५ हजार, नागरिक अभियान्ता रामबहादुर पौडेलले १० हजार, सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुबले १० हजार तथा सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन्।
विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको संघले जनाएको छ।
