
पोखरा। गण्डकी बोर्डिङ स्कुलको १९औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। पोखरा महानगरपालिका अन्तर्गत लेखनाथ-मट्टीखान पावरहाउसस्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक र विशिष्ट अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
शैक्षिक सत्र २०८०/०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो। विद्यार्थीहरूको नृत्य, सांगीतिक प्रस्तुति, नाटक तथा होटल म्यानेज्मेन्टतर्फको फुड फेस्टिभलले कार्यक्रमलाई थप आकर्षक बनायो। सशस्त्र प्रहरी बलको ब्याण्ड बाजाले अतिथिहरूको स्वागत गर्दै कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो।
कार्यक्रमको उद्घाटन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष एवं वर्तमान संरक्षक प्रजापति पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विद्यालय तथा गण्डकी बोर्डिङ कलेज अफ म्यानेज्मेन्ट एन्ड होटल म्यानेज्मेन्टका प्राचार्य मिलन के.सी.को सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले विद्यार्थीहरूले विद्यालय तहबाटै कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय हुनुपर्नेमा जोड दिए।
विद्यालयकी सल्लाहकार निलिशा के.सी.ले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रममा शिक्षक-शिक्षिकाहरूको नृत्य, विद्यार्थीहरूको नाटक र विविध सांगीतिक प्रस्तुति आकर्षणको केन्द्र बने। विशेष अतिथिका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका पूर्व अध्यक्ष राजन कार्की र वर्तमान अध्यक्ष माया गुरुङले सांगीतिक प्रस्तुति दिएका थिए।
कार्यक्रममा प्रमुख अतिथि प्रजापति पराजुली, सभाध्यक्ष मिलन के.सी., सह-प्राचार्य नारायण बराल, कलाकारहरू तथा विद्यालय परिवारले विद्यार्थी र कर्मचारीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए। यस वर्ष ‘लोक कला’ विधालाई आधार मानेर विशेष सम्मान प्रदान गरिएको विद्यालयले जनाएको छ।
शैक्षिक व्यक्तित्व तथा अभिभावक सुरेशराज ढकालले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापप्रतिको समर्पणको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन मा.वि. संयोजक बाबुराम जी.सी., शिक्षिका राधा लामिछाने, सोनम खत्री तथा विद्यार्थीहरूले संयुक्त रूपमा गरेका थिए।
उत्साह, सिर्जनशीलता र संस्कृतिप्रतिको प्रतिबद्धतासँगै सम्पन्न समारोहले विद्यालयको शैक्षिक यात्रालाई थप उचाइतर्फ उन्मुख गराएको आयोजकले बताएका छन्।
