संस्थान र उपभोक्ताको हितमा केन्द्रित हुन कार्कीको निर्देशन

Share:

पोखरा । नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख आशिष कार्कीले संस्थानबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन कर्मचारीलाई उपभोक्तामैत्री ढंगले काम गर्न निर्देशन दिएका छन्। नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित सम्मान तथा विदाई कार्यक्रममा बोल्दै प्रमुख कार्कीले सेवा प्रवाहका क्रममा इमान्दारिता, लगनशीलता र जिम्मेवारीबोधलाई अंगीकार गर्न आग्रह गरे। “खानेपानी सेवा क्षेत्रलाई अब्बल बनाउने काम कर्मचारीबाट मात्र सम्भव छ,” उनले भने।

कार्यक्रम कर्मचारी संघ इकाई समिति पोखराका अध्यक्ष अनील शर्मा सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा संघका तत्कालीन उपाध्यक्ष भोजराज चापागाईलाई विदाई गरिएको थियो। संघका केन्द्रीय अध्यक्ष केदार धमलाले संस्थानलाई बलियो र भरपर्दो बनाउने अभियान कर्मचारीकै सक्रियताबाट सफल हुने उल्लेख गर्दै सेवा-सुविधा र स्थायित्वका विषयमा व्यवस्थापन गम्भीर हुनुपर्नेमा जोड दिए।

उनले संस्थानको ३७औँ वार्षिकोत्सव फागुन १५ गते मनाइने जानकारी दिँदै रचनात्मक कार्यक्रममार्फत सबै कर्मचारीलाई एकताबद्ध बनाउन आह्वान गरे। कार्यक्रममा केन्द्रीय समिति सल्लाहकार तथा पोखरा शाखाका प्रशासन प्रमुख विष्णुप्रसाद रेग्मी, महासचिव वसन्तराज भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए।

शिक्षक सेवा आयोगमार्फत नयाँ यात्रामा लागेका भोजराज चापागाईले कर्मचारीले कार्यालयको निर्देशन पूर्णरूपमा पालना गर्नु नै आफ्नो गहना भएको बताए। उनले सकारात्मक सोचसहित अघि बढ्न आग्रह गर्दै आफूप्रति देखाइएको सद्भावका लागि आभार व्यक्त गरे।

चापागाईलाई दोसल्ला र कदरपत्रसहित सम्मान गर्दै विदाई गरिएको कर्मचारी संघका सदस्य रुपेश पाण्डेले जानकारी दिए। हाल उनी धारा माध्यमिक विद्यालय, काठेखोला गाउँपालिका-बाग्लुङमा अध्यापनरत छन्। कार्यक्रममा कर्मचारी एकता, सेवा गुणस्तर र उपभोक्ताको हितलाई प्राथमिकतामा राख्दै संस्थानलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: