
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराका अटो क्षेत्रमा कार्यरत व्यवसायीहरूका लागि आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ।
जर्मन सहयोगी संस्था अन्तर्गतको दीगो विकासका लागि राजश्व सुधार परियोजनाको सहयोगमा आयोजित तालिममा गण्डकी अटो मेकानिकल वर्क्स एसोसियसनसँग सहकार्य गरिएको थियो। तालिममा करिब ५५ जना अटो व्यवसायी सहभागी भएका थिए।
प्रशिक्षक सिए विवेक श्रेष्ठले आयकर, भ्याट दर्ता, कर विवरण पेश गर्ने प्रक्रिया, दण्ड-जरिवाना व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण दिएका थिए। उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोकर्ण कार्कीले अटो क्षेत्र दैनिक जीवनको अपरिहार्य आवश्यकता बनिसकेको उल्लेख गर्दै करका विविध आयामबारे व्यवसायीलाई जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको बताए।
“व्यवसायीले भ्याट र करसम्बन्धी स्पष्ट ज्ञान हासिल गर्दा राजश्व वृद्धिमा समेत योगदान पुग्छ,” उनले भने। संघकी महासचिव शोभा गौतमको सञ्चालनमा भएको कार्यक्रममा नेपाल अटो मेकानिकल वर्क्स एसोसियसनका केन्द्रीय उपाध्यक्ष कुलबहादुर नेपालीले अटो क्षेत्रलाई व्यवस्थित बनाउन राज्यले विशेष ध्यान दिनुपर्ने धारणा राखे।
उनले पोखरामा पहिलोपटक इभी (विद्युतीय) गाडी मर्मत तालिम सञ्चालन गरिएको उल्लेख गर्दै भ्याट तथा कर तालिमले व्यवसायीलाई थप सशक्त बनाउने बताए।
गण्डकी अटो मेकानिकल वर्क्स एसोसियसन पोखराका अध्यक्ष विष्णुप्रसाद अधिकारीले तालिमले श्रम गरेर जीविका चलाउने अटो व्यवसायीलाई दण्ड र जरिवानाबाट जोगिन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
तालिमले कर सचेतना अभिवृद्धि गर्दै अटो व्यवसायलाई थप व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा आयोजकले गरेका छन्।
