पोखरामा पर्वते मतदातासँग कांग्रेसी उम्मेदवारको भेटघाट, भोट अपिल तीव्र

Share:

पोखरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्वतका नेपाली कांग्रेस उम्मेदवारहरूले चुनावी अभियानलाई तीव्र बनाएका छन्। पर्वत स्थायी घर भई हाल विभिन्न पेशा-व्यवसायका सिलसिलामा पोखरामा बसोबास गर्दै आएका मतदातालाई लक्षित गर्दै प्रतिनिधिसभा उम्मेदवार अर्जुनप्रसाद जोशी र समानुपातिक उम्मेदवार जीतबहादुर नेपाली मतदातासँग प्रत्यक्ष भेटघाटका लागि पोखरा पुगेका हुन्।

नेपाली कांग्रेस पर्वत–पोखरा सम्पर्क समितिको आयोजनामा पेशा-व्यवसायी प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा उम्मेदवारहरूले आफ्ना एजेण्डा प्रस्तुत गर्दै समर्थन र भोटको अपिल गरे। कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार जोशीले नेपाली कांग्रेस रूपान्तरणको बाटोमा अघि बढेको दाबी गरे। “जनताको चाहना र बदलिँदो समयको मागअनुसार अब कांग्रेसले काम गर्नेछ,” उनले भने।

भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सुशासनप्रति पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले विगतबाट पाठ सिकेर असल कर्ममार्फत विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरे। “अरूलाई गाली होइन, जनताप्रति जवाफदेही बन्ने बाटो हामीले रोजेका छौँ,” उनको भनाइ थियो।

समानुपातिक उम्मेदवार नेपालीले दलित, उत्पीडित र जनजाति समुदायको अधिकार सुनिश्चित गर्न कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए। स्थानीय तहका प्रत्येक वडामा दलित प्रतिनिधित्वको कानुनी व्यवस्था कांग्रेसकै पहलमा सम्भव भएको उनको दाबी थियो।

समितिका अध्यक्ष डा. गणेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सांसद रेखा गुरुङ, निर्वाचन परिचालन समितिका संयोजक खगेन्द्र तिवारी, अनुगमन समितिका संयोजक विश्व प्रसाई, नेपाली कांग्रेस पर्वतका उपसभापति शिव सुवेदीलगायतले लोकतन्त्र सुदृढीकरणका लागि कांग्रेसलाई विजयी गराउनुपर्ने धारणा राखे।

पोखरामा बसोबास गर्ने पर्वते मतदाताको उल्लेख्य उपस्थितिबिच सम्पन्न कार्यक्रमले चुनावी माहोललाई थप तताएको सहभागीहरूले बताएका छन्। अन्तरक्रियामा विकास, सुशासन र समावेशिताको एजेण्डा कार्यान्वयनका लागि कांग्रेसलाई जिताउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: