फोटो पत्रकार अक्षयकोषमा मिलन तमुको २० हजार सहयोग

Share:

पोखरा। नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गर्दै आएको ‘फोटो पत्रकार अक्षयकोष’मा यूकेमा क्रियाशील फोटो पत्रकार मिलन तमुले २० हजार रुपैयाँ सहयोग गरेका छन्।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-५, रिभान जन्मथलो भई हाल यूकेलाई कर्मथलो बनाएका तमु Gorkha Mediaका प्रवन्ध निर्देशकसमेत हुन्। नेपाल भ्रमणका क्रममा उनले उक्त रकम एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई हस्तान्तरण गरेका हुन्।

तमु यसपटक सहारा क्लब पोखराद्वारा आयोजित आहा रारा पोखरा गोल्डकपमा सहभागी हुन नेपाल आएका हुन्। उनी तमु धिं यूके र सहारा यूकेका मिडिया तथा फोटो संयोजकसमेत रहेका छन्। नेपाल बसाइका क्रममा उनले विभिन्न सामाजिक सेवाका गतिविधिमा पनि सक्रिय सहभागिता जनाइरहेका छन्।

यसैबीच, सहारा क्लबले २५औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अवसरमा शनिबार तमुलाई ‘रजत जयन्ती सम्मान’बाट सम्मानित गरेको थियो। प्रतियोगिताको विकास र प्रवर्द्धनमा फोटो पत्रकारितामार्फत विशेष योगदान पुर्‍याएको भन्दै क्लबले उनलाई माला, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेको हो।

रकम ग्रहणपछि एनपिजेए कास्कीका अध्यक्ष गुरुङले अक्षयकोषमा सहयोग गरेकोमा तमुलाई धन्यवाद दिँदै यस्ता सहयोगले कोषको लक्ष्य प्राप्तिमा टेवा पुग्ने बताए। संकलित रकम फोटो पत्रकारहरूको वृत्तिविकास, क्षमता अभिवृद्धि र पेशागत सुदृढीकरणमा खर्च गरिने उनले जानकारी दिए।

फोटो पत्रकार अक्षयकोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी तथा संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको संघले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: