मुस्ताङमा मतदान टोलीलाई भौगोलिक चुनौती, १ सय किमिभन्दा टाढासम्म मतपेटिका ढुवानी

Share:

पोखरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा खटिने कर्मचारी र सुरक्षाकर्मीले कडा भौगोलिक चुनौतीको सामना गर्नुपर्ने भएको छ। कतिपय मतदानस्थल सदरमुकाम जोमसोमबाट १ सय किलोमिटरभन्दा बढी दूरीमा रहेकाले मतदान सामग्री ढुवानीदेखि मतपेटिका फिर्ता ल्याउनसम्म कठिनाइ हुने देखिएको हो।

विशेषगरी नेपाल-चीन सिमाना नजिक पर्ने कोरला नाका आसपासका उपल्लो मुस्ताङ क्षेत्र-लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका मतदानस्थल सदरमुकामबाट निकै टाढा छन्। जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार ती स्थानमा गाडीबाटै पुग्न ६ देखि ७ घण्टासम्म लाग्नेछ। मतदान सम्पन्न भएपछि मतपेटिका गणनास्थल जोमसोम ल्याइपुर्‍याउँदा राति १२ बज्न सक्ने अनुमान गरिएको छ।

कोरला राजमार्गसँग जोडिएका घिलिङ, घमी र चराङ क्षेत्रमा यातायात अपेक्षाकृत सहज भए पनि शाखा सडक हुँदै पुग्नुपर्ने मतदान केन्द्रहरूमा भने यात्रा जोखिमपूर्ण र समयसाध्य हुने बताइएको छ। लोघेकर दामोदरकुण्डका केही केन्द्र पनि करिब १ सय किलोमिटरकै दूरीमा पर्छन्।

एउटा मतदानस्थल गाभियो

लोमान्थाङ गाउँपालिकामा ६ मतदानस्थल कायम गरिएको छ, जहाँ २ हजार ११ मतदाता रहेका छन्। अधिकारी ज्ञवालीका अनुसार लोमान्थाङ-२ को समजुङ मतदानस्थललाई सारेर सोही वडाको छोसेरस्थित दिव्य माध्यमिक विद्यालयमा गाभिएको छ।

यस्तै, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ५ वडामा १ हजार ५४२ मतदाता रहेका छन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका मतदानस्थलहरू जोमसोमबाट करिब ५० किलोमिटर दूरीमा छन्, जहाँ २ हजार ८८५ मतदाता सहभागी हुनेछन्।

निर्वाचन आयोगका अनुसार जिल्लाका ५ स्थानीय तहमा कुल ३९ मतदानस्थल कायम गरिएको छ। यस निर्वाचनमा मुस्ताङबाट ११ हजार ३२८ मतदाता सहभागी हुनेछन्।

हिमाली भौगोलिक विकटताबीच निर्वाचन सम्पन्न गर्न प्रशासनले सुरक्षा, यातायात र संचार व्यवस्थापनमा विशेष तयारी गरेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: