
पोखरा । सामाजिक एकता र सद्भावको सन्देश दिँदै पोखरा-६ मा सक्रिय जरेवर उज्वल दिदीबहिनी समूहले आवासीय क्रियापुत्री भवन निर्माणका लागि ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ। पोखरा महानगरपालिका वडा नम्बर ५, ६, ७ र १८ को संगमस्थल बासेको पधेरोमा निर्माणाधीन भवनका लागि समूहकी अध्यक्ष शान्ति पौडेलले निर्माण समितिका अध्यक्ष ठाकुरप्रसाद बराललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन्।
आवासीय क्रियापुत्री भवन अभावमा विभिन्न जिल्लाबाट व्यापार-व्यवसायका लागि पोखरा आउने तथा स्थानीय बासिन्दाले समेत क्रियाकर्म सम्पन्न गर्न कठिनाइ भोग्दै आएको अवस्थामा भवन निर्माण थालिएको हो। निर्माण सम्पन्न भएपछि शोकको घडीमा परिवारजनले सहज रूपमा आवासीय सुविधा सहित क्रियाकर्म गर्न सक्नेछन्।
समूहले स्थापना कालदेखि देउँसी-भैलो, भजन-कृतन, रत्यौली लगायतका सांस्कृतिक कार्यक्रमबाट संकलन गरेको रकम सामाजिक कार्यमा लगानी गर्दै आएको छ। अध्यक्ष पौडेलका अनुसार समाजमा रहेका विकृति-विसंगति अन्त्य गरी सभ्य समाज निर्माण गर्ने उद्देश्यसहित २०६८ सालमा स्थापना भएको समूह निरन्तर सामाजिक सेवामा सक्रिय छ।
समूहकी सचिव शान्ता सुवेदी तिमिल्सिनाले दुःख-सुखमा साथ दिने भावनासहित संकलित रकम भवन निर्माणमा सहयोग गर्न पाउँदा गर्व लागेको बताइन्। निर्माण समितिका अध्यक्ष बरालले जरेवर उज्वल दिदीबहिनी समूहको योगदानलाई महत्वपूर्ण भन्दै स्थानीयवासी, सामाजिक व्यक्तित्व तथा विभिन्न संघ-संस्थाबाट समेत निरन्तर सहयोग प्राप्त भइरहेको जानकारी दिए।
करिब ६० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको तीनतले भवनले पोखरामा सामाजिक तथा धार्मिक पूर्वाधार सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
