पशुपतिनाथ मन्दिरमा नागा बाबा तथा साधुसन्तलाई दान-दक्षिणासहित बिदाइ

208
0
Share:

काठमाडौं। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका नागा बाबालगायत हजारौँ साधुसन्तलाई आज दान-दक्षिणा, भोजन तथा सम्मानसहित बिदाइ गरिँदैछ। फागुन कृष्ण एकादशीदेखि पशुपति क्षेत्रमा बसोबास गर्दै आएका साधुसन्तलाई परम्पराअनुसार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले संयुक्त रूपमा बिदाइ गर्ने व्यवस्था मिलाएका हुन्।

पशुपतिका गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा लगायत परिसरका विभिन्न स्थानमा करिब चार हजारभन्दा बढी साधुसन्त बसेका छन्। विभिन्न सम्प्रदायका साधुहरू आ-आफ्नो अखडामा धुनी जगाएर बस्ने परम्परा रहेको छ।

विसं १८३१ मा जङ्गबहादुरका जेठा छोरा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि शिवरात्रिमा आएका साधुसन्तलाई दान-दक्षिणासहित बिदाइ गर्ने परम्परा सुरु भएको बताइएको छ।

पहिले साधुसन्तलाई भोजन गराई थापाथलीस्थित कालमोचनघाटबाट बिदाइ गरिन्थ्यो। कोत पर्वमा मारिएकाहरूको दाहसंस्कार यहीँ गरिएको भएकाले मृतआत्माको शान्तिका लागि यहीँबाट बिदाइ गर्ने विश्वास थियो। हाल भने पशुपतिको पश्चिम मूल ढोकाबाट बिदाइ गर्ने प्रचलन छ।

गुठी संस्थानले बिदाइका लागि करिब रु ३० लाख बजेट छुट्याएको छ। साधुसन्तलाई स्तरअनुसार रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड वितरण गरी सोहीअनुसार दक्षिणा प्रदान गरिन्छ।

नेपाल बाहिरबाट आएका नागा बाबा तथा साधुसन्तलाई सीमासम्म पुग्न सहज होस् भनेर दक्षिणा रकम बढाइएको संस्थानले जनाएको छ।

पशुपति क्षेत्र विकास कोषले साधुसन्त सेवा तथा धार्मिक कार्यक्रम व्यवस्थाअन्तर्गत करिब रु ८ लाख बजेट विनियोजन गरेको छ। कोषले रु पाँच हजार एकदेखि रु १०१ सम्म दक्षिणा दिने तयारी गरेको जनाएको छ।

यसअनुसार: रु ५००१ – २० जना साधुलाई, रु १००१ – २०० जना, रु ७०१ – १००० जना, रु ५०१ – १००० जना, रु ३०१ – १३०० जना, रु २०१ – जोगी सबैलाई, रु १०१ – लाइनमा बस्ने अन्य सबैलाई दान-दक्षिणासँगै वर्षभर पशुपतिनाथ मन्दिरमा चढाइएका रुद्राक्ष पहिराएर सम्मानपूर्वक बिदाइ गरिनेछ।

महाशिवरात्रिमा मन्दिरभित्र पाँच दिन र बाहिर चार दिन धुनी जगाउनका लागि रु ७ लाख बराबरको ५० हजार किलो दाउरा खरिद गरिएको छ।

२०६८ चैत २६ देखि लागू गरिएको भेटीघाटी पारदर्शी तथा पूजा व्यवस्था नियमावलीपछि कोषको भेटी बाकसमा जम्मा भएको रकम रु १५ करोड पुगेको जनाइएको छ। पारदर्शिता र व्यवस्थापन सुधारसँगै पशुपतिनाथलाई नेपालकै उदाहरणीय मन्दिरका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको कोषले जनाएको छ।

महाशिवरात्रिको धार्मिक महत्त्वसँगै साधुसन्तको सम्मान, परम्पराको निरन्तरता र पारदर्शी व्यवस्थापनले यस वर्षको शिवरात्रि पर्वलाई अझ व्यवस्थित र आकर्षक बनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: