
काठमाडौं । महाशिवरात्रि पर्व सकिएसँगै पशुपतिनाथ मन्दिर परिसर फोहरको डङ्गुरले भरिएको छ। नागा बाबालगायत बाहिरबाट आएका साधुसन्तलाई दान-दक्षिणासहित बिदाइ गरिँदै गर्दा मन्दिर वरपर भने फूलप्रसाद, प्लास्टिक, दाउराको अवशेष र अन्य फोहर थुप्रिएको दृश्यले भक्तजन र स्थानीयवासी आक्रोशित बनेका छन्।
हजारौँ भक्तजनको उपस्थिति रहने शिवरात्रि मेलापछि पनि फोहर व्यवस्थापनमा ढिलाइ हुँदा दर्शनार्थीले नाक थुनेर मन्दिर प्रवेश गर्नुपर्ने अवस्था सिर्जना भएको छ। कीर्तिपुरबाट दर्शनका लागि आएकी लक्ष्मी शर्मा दाहालले भनिन्, “राष्ट्रदेवको मन्दिरमा यस्तो दुर्गन्ध आउनु दुःखद हो, दर्शन गर्न नै असहज भयो।”
स्थानीयवासी तथा कोषका पूर्वसदस्य गोपालप्रसाद सुवेदीले करोडौँको सम्पत्ति रहेको पशुपतिनाथ क्षेत्रमा एउटा मेला सकिएपछि फोहरको डङ्गुर थुप्रिनु लाजमर्दो विषय भएको टिप्पणी गरे। “कोषले प्रभावकारी व्यवस्थापन गर्न सकेको भए यस्तो अवस्था आउने थिएन,” उनले भने।
भक्तजनका अनुसार हरेक वर्ष शिवरात्रिपछि यस्तै समस्या दोहोरिँदै आएको छ। फोहर समयमै उठान नहुँदा मन्दिर दर्शनमा आउने श्रद्धालु मात्र होइन, आसपासका बस्तीसमेत प्रभावित हुने गरेका छन्।
यता कोषका सदस्य सचिव डा. टण्डनले लाखौँ भक्तजनको आगमनका कारण फूलप्रसाद र अन्य सामग्रीले क्षेत्र फोहर देखिए पनि सफाइ कार्य सुरु भइसकेको बताए। उनका अनुसार बिहीबारसम्म पूर्ण रूपमा सफाइ सम्पन्न गरिनेछ।
हरेक वर्ष भव्य रूपमा आयोजना हुने शिवरात्रि मेलाले धार्मिक आस्था र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याए पनि फोहर व्यवस्थापनमा देखिएको कमजोरीले व्यवस्थापन पक्षमाथि प्रश्न उठाएको छ। राष्ट्रदेवको धामको गरिमा जोगाउन तत्काल, दिगो र प्रभावकारी फोहर व्यवस्थापनको माग स्थानीयवासी र भक्तजनले गरेका छन्।
