
पोखरा । अनुशासित, मूल्यआधारित र प्रगतिशील शिक्षा प्रदान गर्ने लक्ष्यसहित पोखरामा नयाँ शैक्षिक संस्था सञ्चालनमा आउने भएको छ। आगामी २०८३ शैक्षिक सत्रदेखि पोखरा ग्रामर स्कुलले औपचारिक रूपमा पठनपाठन सुरु गर्ने घोषणा गरेको छ।
पोखरा महानगरपालिका-१७, ड्यामसाइडस्थित साविकको लिटिल वेल स्कुलको भवन तथा पूर्व फिस्टेल स्कुलको परिसरमा विद्यालय सञ्चालन हुनेछ। यसको व्यवस्थापन प्रतिष्ठित फिस्टेल समूहले सम्हालेको छ, जसले काठमाडौँ बाहिरको एकमात्र आइबी वर्ल्ड स्कुल फिस्टेल एकेडेमी सञ्चालन गर्दै आएको छ।
विद्यालयका संरक्षक चिनु रानाभाटले पोखरामा अनुशासित र मूल्यआधारित शिक्षाको ऐतिहासिक सुरुवात भएको बताए। “गुणस्तरीय, चरित्रवान तथा विश्वस्तरीय नागरिक निर्माण गर्ने दृढ प्रतिबद्धताका साथ पोखरा ग्रामर स्कुल एक नवीन र रूपान्तरणकारी संस्थाका रूपमा उदाएको छ,” उनले भने। विद्यालय केवल पढाइको केन्द्र मात्र नभई भविष्य निर्माणको दिगो आधारशिला बन्ने उनको विश्वास छ।
विद्यालयको नेतृत्व युवा अध्यक्ष एलिस रानाभाटले सम्हालेका छन्। आफू तेस्रो पुस्ताको प्रतिनिधि भएको उल्लेख गर्दै उनले विदेशमा आर्जित ज्ञान र अनुभव नेपालमै प्रयोग गर्नुपर्ने धारणा राखे।
“विदेशमा अध्ययन गरेर फर्किएका युवाहरूले स्वदेशमै योगदान दिनुपर्छ भन्ने मेरो विश्वास हो,” उनले भने। आफ्ना बुवासँगको गहन छलफलपछि विद्यालयको अवधारणा तयार भएको बताउँदै उनले फिस्टेल एकेडेमीसरह प्रगतिशील, आधुनिक र विद्यार्थीकेन्द्रित वातावरण यहाँ पनि निर्माण गरिने जानकारी दिए।
विद्यालयमा प्रारम्भिक बाल शिक्षा देखि माध्यमिक तहसम्म अध्ययन-अध्यापन हुने छ। शैक्षिक संस्कृतिमा जापानी अनुशासन, समयपालन, स्वच्छता र आत्म-जिम्मेवारीका सिद्धान्त अपनाइने जनाइएको छ।
विद्यालयले शैक्षिक उत्कृष्टतासँगै चरित्र निर्माण, सृजनशीलता, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्ने नीति लिएको छ। विद्यार्थीको सर्वाङ्गिन विकासका लागि कला, संगीत, योग तथा माइन्डफुलनेस, मार्सल आर्ट, वातावरणीय सचेतना र सामुदायिक सेवा जस्ता सह-पाठ्यक्रम गतिविधिलाई जोड दिइनेछ।
विद्यालयले अनुशासित, करुणामयी, नैतिक तथा विश्वव्यापी प्रतिस्पर्धामा सक्षम नागरिक उत्पादन गर्दै समाज र राष्ट्र निर्माणमा अग्रणी भूमिका खेल्ने लक्ष्य लिएको छ। अनुशासनलाई सफलताको मेरुदण्ड, सम्मानलाई सद्भावको आधार र जिम्मेवारीलाई नेतृत्वको शक्ति मान्दै आधुनिक प्रविधि र स्थानीय सांस्कृतिक मूल्यहरूको संयोजनमार्फत शिक्षा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने प्रतिबद्धता विद्यालयले जनाएको छ।
पोखराको शैक्षिक क्षेत्रमा नयाँ उर्जा थप्ने अपेक्षासहित पोखरा ग्रामर स्कुलले आफ्नो शैक्षिक यात्राको औपचारिक सुरुवात गर्न लागेको छ।
