कार चालकद्वारा इन्जिनियरमाथि कुटपिट : भाइरल भिडियोपछि पक्राउ, सात दिन म्याद थपेर अनुसन्धान हुँदै

167
0
Share:

काठमाडौं । राजधानीको व्यस्त सडकमा कार चालकले पैदल यात्रुमाथि हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ। घटनाले सर्वत्र आलोचना निम्त्याएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार कुटपिट गर्ने व्यक्ति बुढानीलकण्ठ नगरपालिका-३ बस्ने ४२ वर्षीय पारस बम हुन्। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ।

प्रहरीका अनुसार बम पेशाले इन्जिनियर हुन्। भिडियोमा काठमाडौं को नारायणगोपाल चोकमा गाडी रोकिएको अवस्थामा उनी कारबाट ओर्लिएर सडकमा हिँडिरहेका एक व्यक्तिमाथि हातपात गरेको देखिन्छ।

बा ३ च ११०३ नम्बरको निजी जिप चालकले सार्वजनिक स्थलमै दुर्व्यवहार गरेको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।

घटनापछि उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप भएको छ।

सार्वजनिक स्थलमा भएको कुटपिटको घटनाले सडक सुरक्षासँगै नागरिक आचरणबारे प्रश्न उठाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: