आर्बाली भन्छन्- ‘एमालेले काम नगरेको भन्न मिल्दैन, काम बोलेको छ, फेरि हामी जिताउँछौँ’

Share:

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कास्की–१ मा घरदैलो अभियान तीव्र बनाएको छ। उम्मेद्वार बैनबहादुर अधिकारी क्षेत्री नेतृत्वको टोलीले मंगलबार पोखरा–१३ का विभिन्न बस्तीमा पुगेर मतदातासँग भेटघाट गरेको हो।

पोखरा-१३ आर्बाका २५ वर्षीय रवि बराल बिहानैदेखि उम्मेद्वार अधिकारीको पर्खाइमा थिए। एमालेकै पहलमा कालोपत्रे गरिएको गाउँको सडकमा उभिएर उनले उम्मेद्वारलाई स्वागत गरे। “हाम्रो गाउँमा विकास भएन भन्ने गुनासो सुन्नुपर्दैन,” उनले भने, “मन्दिर, खानेपानी र सडकजस्ता पूर्वाधार यहीँबाट जित्नुभएका सांसद्कै योजना र पहलमा बनेका हुन्।”

उनका अनुसार २०७४ सालमा वडा, प्रदेश र प्रतिनिधिसभामा एमाले विजयी भएपछि पोखरा-१३ मा पूर्वाधार विकासले उल्लेख्य फड्को मारेको छ। पछिल्लो आठ वर्षमा सडक कालोपत्रे, खानेपानी व्यवस्थापन तथा अन्य संरचनात्मक विकासले आर्बासहित डाँडाकाँडाका बस्तीको मुहार फेरिएको उनको दाबी छ। “काम नै नभएको भन्ने भाष्य हाम्रो हकमा गलत हो, त्यसैले फेरि जिताउँछौँ,” बरालले आत्मविश्वास व्यक्त गरे।

उम्मेद्वार अधिकारीले मंगलबार कसेरी, मणीदीप, मोहरपानी, काहुँखोला, कुँडहरलगायत क्षेत्रमा मतदातासँग भेटघाट गरे। आर्बास्थित महाप्रभुधाममा पुगेर उनले धार्मिक पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासमा थप पहल गर्ने प्रतिबद्धता जनाए। काहुँखोलामा बस्ती संरक्षणका लागि एमालेकै पहलमा तटबन्धन र बजेट व्यवस्थापन गरिएको पनि उनले जानकारी दिए।

भेटघाटका क्रममा अधिकारीले एमालेले गरेका काम जनताले बुझेको तर चुनाव नजिकिँदै गर्दा भ्रम फैलाउने प्रयास हुने गरेको बताए। “विकासका कामले नै हाम्रो पक्षमा जनमत बनाएको छ,” उनले भने। अधिकारीले बुधबार पोखरा–३२ मा घरदैलो अभियान जारी राख्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: