
पोखरा । गण्डकी प्रदेशकै ठूलो अटो प्रदर्शनीका रूपमा चिनिएको वाडा अटो सो २०२६ दोस्रो संस्करणसहित पोखरामा आयोजना हुने भएको छ। पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले नयाँ वर्ष २०८३ को अवसर पारेर चैत ११ देखि १५ गतेसम्म लेकसाइडस्थित तालबाराही चोक नजिकैको खेल मैदानमा अटो सो गर्न लागेको हो।
पहिलो संस्करणको उत्साहजनक सफलतापछि आयोजना गर्न लागिएको यस प्रदर्शनीले सवारी साधनको खरिद-बिक्री प्रवर्द्धनसँगै आधुनिक प्रविधिबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी दिने लक्ष्य लिएको आयोजकले जनाएको छ। प्रदर्शनी व्यवस्थापनको जिम्मा ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स इभेन्ट्स) ले लिएको छ भने स्टल बुकिङ छिट्टै खुल्ने जानकारी दिइएको छ।
अटो सोमा साना, मझौला र ठूला सबै प्रकारका सवारी साधन प्रदर्शन गरिनेछन्। विशेषगरी इलेक्ट्रिक भेइकल र इन्धनबाट चल्ने नयाँ-नयाँ मोडेलहरू आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ। त्यस्तै, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर, ब्याट्री, बैंक तथा वित्तीय संस्था र अन्य सवारीजन्य सामग्रीका स्टलहरू पनि समावेश हुनेछन्।
आयोजकका अनुसार सहभागी कम्पनीहरूले नयाँ वर्षको अवसरमा विशेष छुट, एक्सचेन्ज अफर र आकर्षक फाइनान्स योजनासहितका प्याकेज ल्याउनेछन्। प्रदर्शनी अवधिभर मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिने भएकाले यसले पारिवारिक घुमफिर र व्यवसायिक अवसर दुवैलाई समेट्ने विश्वास गरिएको छ।
पोखरालाई अटो व्यवसायको प्रमुख केन्द्रका रूपमा स्थापित गर्दै बजार चलायमान बनाउने अपेक्षासहित ‘वाडा अटो सो २०२६’ लाई यस वर्ष अझ भव्य र व्यवस्थित बनाइने वाडाले जनाएको छ।
