
पोखरा। गण्डकी प्रदेशमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्रमुख दलहरूबीच प्रतिस्पर्धा तीव्र बनेको छ। प्रत्यक्षतर्फ उम्मेदवारको प्रभाव देखिए पनि दलहरूको वास्तविक हैसियत भने समानुपातिक मतले निर्धारण गर्ने भएकाले सबै दलको ध्यान त्यसतर्फ केन्द्रित देखिन्छ।
गगन थापाले माघ २३ गते गण्डकीमा आयोजित बैठकमा कार्यकर्तालाई दुई सन्देश दिए, “अब की बार गगन सरकार होइन, सय पार भन्नुहोस्” र “२०७९ मा कांग्रेसलाई समानुपातिकमा मत दिने २७ लाख मतदातासम्म पुग्नुहोस्।”
२०७९ सालमा नेपाली कांग्रेसले समानुपातिकतर्फ २६ लाख ७३ हजार २७ मत प्राप्त गरेको थियो। प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिक ३२ सिटसहित संघीय संसदमा पहिलो दल बनेको थियो। यसपटक पनि समानुपातिक मत नघट्ने दाबी कांग्रेस नेताहरूको छ। कांग्रेस गण्डकीका नेताहरू मनाङ, मुस्ताङ, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ र कास्कीमा बलियो उपस्थिति रहेको दाबी गर्दै आएका छन्।
रास्वपाको उत्साह
२०७९ को निर्वाचनमा चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ६१४ समानुपातिक मत पाएको थियो, जसमध्ये १ लाख ७७ हजार २५ मत गण्डकीबाट आएको थियो। सभापति रवि लामिछाने नेतृत्वको रास्वपा यसपटक गण्डकीलाई ‘आधारभूमि’ बनाउँदै कम्तीमा १२ निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने दाबी गरिरहेको छ। कास्कीका तीनै क्षेत्र, तनहुँ-१ (जहाँ उपनिर्वाचनमा स्वर्णिम वाग्ले विजयी भएका थिए), गोरखाका दुवै क्षेत्र, लमजुङ, नवलपुर, बागलुङ र पर्वतमा आफूहरू मजबुत रहेको रास्वपा नेताहरूको दाबी छ।
कास्कीका नेताहरूका अनुसार यसपटक प्रत्यक्षसँगै समानुपातिकमा पनि “नसोचेको मत” आउने अपेक्षा गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) पनि गण्डकीमा आफू पहिलो शक्ति बन्ने दाबी गर्दैछ। २०७४ मा ३१ लाख ७३ हजार ४९४ मत ल्याएको एमाले २०७९ मा २८ लाख १ हजार ८७० मतमा झरेको थियो।
एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले “जनता हल्लाको पछि नलाग्ने” भन्दै एमालेको वेग रोक्न नसकिने बताएका छन्। गण्डकीका १५ क्षेत्रमा आफूहरू अग्रस्थानमा रहेको एमाले नेताहरूको दाबी छ, यद्यपि केही क्षेत्रमा रक्षात्मक अवस्था रहेको स्वीकारोक्ति पनि पार्टीभित्रै सुनिन्छ।
नेकपा र राप्रपाको रणनीति
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकीमा आफू कमजोर रहेको स्वीकारे पनि कार्यकर्ताको उत्साहले परिणाम आफ्नो पक्षमा पार्ने दाबी गरेको छ। बागलुङमा राष्ट्रिय जनमोर्चासँग तालमेल गर्दै कम्तीमा २ देखि ६ सिट जित्ने लक्ष्य राखिएको बताइएको छ।
उता राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ कमजोर अवस्था स्वीकारे पनि समानुपातिकमा उल्लेख्य मत आउने विश्वास व्यक्त गरेको छ। आगामी संसद् ‘त्रिशंकु’ हुने आकलन गर्दै राप्रपाले आफ्नो एजेन्डा दीर्घकालीन रूपमा स्थापित हुने दाबी गरेको छ।
गण्डकीमा १८ लाख ७० हजारभन्दा बढी मतदाता छन्। प्रत्यक्षतर्फ उम्मेदवारको लोकप्रियता महत्वपूर्ण भए पनि दलहरूको शक्ति सन्तुलन समानुपातिक मतबाट तय हुने भएकाले सबै दलले मतदाताको घरदैलो अभियान तीव्र बनाएका छन्।
कांग्रेस ‘सय पार’ लक्ष्यसहित अघिल्लो मत जोगाउने रणनीतिमा छ भने रास्वपा उत्साहका साथ विस्तारको योजनामा देखिन्छ। एमाले आफ्नो परम्परागत आधार जोगाउँदै अग्रता कायम राख्ने दाबी गरिरहेको छ।
गण्डकीको चुनावी परिणामले संघीय सत्ता समीकरणमा निर्णायक प्रभाव पार्ने भएकाले यस प्रदेशलाई यसपटकको निर्वाचनको ‘मुख्य रणभूमि’का रूपमा हेरिएको छ।
