गोरखा दरबार संग्रहालयमा कलात्मक बोर्ड स्थापना, नागरिक समाज कास्कीको पहल प्रशंसनीय

Share:

पोखरा। ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षणमा नागरिक समाज कास्कीले उदाहरणीय पहल गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभाग मातहत सञ्चालित गोरखा दरबार संग्रहालयमा काठको कलात्मक कार्यालय बोर्ड स्थापना गरिएको छ।

बुधबार नागरिक समाज कास्कीको पहलमा टिन र फ्लेक्सको साटो परम्परागत शैलीमा निर्माण गरिएको आकर्षक काठे बोर्ड राखिएको हो। पुरातात्विक महत्व बोकेको दरबार परिसरमा कलात्मक बोर्ड जडान भएसँगै संग्रहालयको सौन्दर्य र ऐतिहासिक गरिमा थप उजागर भएको सरोकारवालाहरूको भनाइ छ।

बोर्ड हस्तान्तरणका लागि नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेलको नेतृत्वमा टोली गोरखा पुगेको थियो। टोलीले संग्रहालयका नासु हरि सारू मगरलाई बोर्ड हस्तान्तरण गरेको हो।

संग्रहालयका प्रतिनिधि सारू मगरले नागरिक समाजको यस सह्रानीय कार्यको प्रशंसा गर्दै प्रवेशद्वारमै राखिएको कलात्मक बोर्डले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गरे।

संस्थापक संयोजक पौडेलले पृथ्वीजयन्तीको तयारीका क्रममा संग्रहालय अवलोकन गर्दा कलात्मक बोर्ड आवश्यक देखिएकाले अभियान सुरू गरिएको बताए। उनका अनुसार कुनै सरकारी निकाय वा अन्य संघसंस्थाको सहयोग बिना नागरिक समाजका सदस्यकै योगदानबाट बोर्ड निर्माण तथा स्थापना सम्भव भएको हो।

नागरिक समाजका प्रवक्ता गोकुलबहादुर कार्कीले यो कार्य सामूहिक सहकार्यको उदाहरण भएको उल्लेख गरे। कार्यक्रम संयोजक तथा पूर्व अध्यक्ष विष्णुहरि अधिकारीले संग्रहालयको कलात्मक वातावरणसँग मेल खाने, वातावरणमैत्री बोर्ड स्थापना गर्न पाएकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा सहसंयोजक दुर्गाकुमारी शर्मा, सहप्रवक्ता सूर्यनाथ पहारी, सदस्य शोभा श्रेष्ठ र शिवप्रसाद बास्तोला लगायतको उपस्थिति रहेको थियो। संयोजक नरेन्द्र लालचनका अनुसार नागरिक समाज कास्कीले विगतदेखि नै सरसफाइ अभियान, सामाजिक विकृति-विसंगतिविरुद्ध आवाज उठाउने तथा सरकार र सरोकारवालालाई सचेत गराउने काम गर्दै आएको छ।

संग्रहालय कार्यालय प्रमुख जयनारायण कार्कीका अनुसार गोरखा दरबार संग्रहालय २०६५ जेठ १९ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको हो। ऐतिहासिक धरोहरको संरक्षण र प्रवर्द्धनमा नागरिक समाजको यस्तो सक्रियताले सम्पदाप्रेमीहरूलाई उत्साहित बनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: