आजदेखि सुरु भयो घान्द्रुक पर्यटन महोत्सव

Share:

पोखरा। कास्कीको घान्द्रुक यतिबेला महोत्सवमय बनेको छ। घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीँ क्लब कोँडको संयुक्त आयोजनामा बुधबारदेखि घान्द्रुक पर्यटन महोत्सव सुरु भएको हो।

महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरेका छन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार कृषि र पर्यटन रहेको स्पष्ट पारे।

“हामीले वडा नम्बर ७ देखि ११ लाई पर्यटकीय क्षेत्र र बाँकीलाई कृषि क्षेत्रका रूपमा विकास गर्ने रणनीति बनाएका छौँ,” अध्यक्ष केसीले भने, “घान्द्रुकसँगै गाउँपालिकाभित्रका सबै पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्दै समृद्ध अन्नपूर्ण निर्माणमा अघि बढेका छौँ।”

अध्यक्ष केसीका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता प्रदान गर्न विरेठाँटीमा एकीकृत पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ। उक्त केन्द्रमार्फत पदमार्ग, दृश्यावलोकन स्थल, सांस्कृतिक गतिविधि तथा नयाँ गन्तव्यबारे सही सूचना उपलब्ध गराइनेछ।

त्यस्तै अन्नपूर्ण बेस क्याम्प जाने पर्यटकहरूको सुरक्षालाई ध्यान दिँदै बेस क्याम्पमै नियमित स्वास्थ्य जाँचको व्यवस्था गरिएको जानकारी पनि उनले दिए।

महोत्सवको अवसरमा घान्द्रुकमा निर्माणाधीन स्वास्थ्य चौकीका लागि निःशुल्क जग्गा उपलब्ध गराउने होटल रोयल भ्यूका सञ्चालक राजु गुरुङ तथा घान्द्रुक समाज जापानका संस्थापक अध्यक्ष बुद्धिबहादुर गुरुङ (ज्या) लाई सम्मान गरिएको थियो। झाँकी र्‍यालीमा सहभागी समूहहरूलाई समेत सम्मान प्रदान गरियो।

रोधीँ क्लब कोँडका वरिष्ठ उपाध्यक्ष लामा अमृत गुरुङका अनुसार महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकलाई १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। दिनमा खेलकुद प्रतियोगिता र साँझमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।

खेलकुद र प्रतिस्पर्धाले महोत्सवमा रौनक

फागुन ९ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिता, घोडा दौड, भेडाको साँढे जुधाइ, रस्साकस्सी, छेलो प्रतियोगिता लगायतका कार्यक्रम समावेश छन्।

पहिलो दिनको बास्केटबल उद्घाटन खेलमा अन्नपूर्ण गाउँपालिकाले माछापुच्छ्रे युथ क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। प्रतियोगिता लिग कम नकआउटको आधारमा सञ्चालन हुनेछ।

बास्केटबल विजेताले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, उपविजेताले १ लाख ११ हजार १ सय ११ र तृतीयले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। घोडा दौड, पदमार्ग दौड, रस्साकस्सी, छेलो र भेडा जुधाइ प्रतियोगितामा पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

पोखराबाट करिब साढे दुई घण्टाको सवारी यात्रामा नयाँपुल-विरेठाँटी हुँदै घान्द्रुक पुग्न सकिन्छ। यहाँबाट टाडापानी, देउराली, घोडेपानी, खोर्पा लेक, हिडन लेक तथा अन्नपूर्ण बेस क्याम्पसम्म पदयात्रा गर्न सकिन्छ।

प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति र साहसिक पदमार्गको संगम बनेको घान्द्रुकमा सुरु भएको पर्यटन महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: