
पोखरा । पोखरा महानगरपालिका-५ प्रस्याङ क्षेत्रमा लागूऔषध बिक्री भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
बुधबार बिहान करिब ११ बजेर १५ मिनेटको समयमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा ६७२ एम्पुल लागूऔषध बरामद गरेको हो।
पक्राउ पर्नेमा म्याग्दी धौलागिरी गाउँपालिका-४ स्थायी घर भई हाल पोखरा-१८ बस्दै आएकी ३१ वर्षीया नरकुमारी घर्ती, १८ वर्षीया अस्मिता घर्ती मगर र ४१ वर्षीया कुन्ता माया पाइजा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट डाईजेपाम २२४ एम्पुल, फेनारगन २२४ एम्पुल र ब्रुफिन २२४ एम्पुल गरी कुल ६७२ एम्पुल लागूऔषध, नगद ८ हजार ५ सय रुपैयाँ तथा ३ थान मोबाइल बरामद गरिएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सम्मानित कास्की जिल्ला अदालत बाट १० दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध कारोबार नियन्त्रणमा कडाइ गरिरहेको र सूचना भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।
