
पोखरा । गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता शुक्रबारदेखि पोखरामा उत्साहजनक रूपमा सुरु भएको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजित उद्घाटन कार्यक्रममा परिषदका सदस्य रविन्सन प्रजुले प्रतियोगिताको औपचारिक शुभारम्भ गर्दै गण्डकीमा खेलकुद विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
उनले आसन्न दशौं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै यस्ता प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धि र प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान गर्ने बताए।
प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलकुद क्षेत्रका विभिन्न पदाधिकारी तथा प्रशिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
पहिलो दिनको नतिजा
प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ बागलुङ, तनहुँ र कास्की विजयी भए भने महिलातर्फ बागलुङ र कास्कीले जित हात पारे।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा बागलुङ, तनहुँ, कास्की, पर्वत र नवलपुरका महिला तथा पुरुष गरी आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुदका लागि प्रारम्भिक चरणमा खेलाडी छनोट गरिने जनाइएको छ।
शनिबार सेमिफाइनल, फाइनल तथा तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
