पोखरामा वैरागीको घरदैलो तीव्र

Share:

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दामोदर पौडेल वैरागीले चुनावी अभियानलाई तीव्र बनाएका छन्। शुक्रबार उनले पोखरा महानगरपालिका-२ र ५ का विभिन्न टोलमा पुगेर घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरे।

घरदैलोका क्रममा वैरागीले आफू सधैं जनतासँगै रहेको र आगामी दिनमा पनि जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे। “म हिजो पनि तपाईँहरूसँगै थिएँ, आज पनि तपाईँहरूसँगै छु र भोलि पनि तपाईँहरूसँगै रहनेछु,” उनले मतदातामाझ विश्वास दिलाए।

एमाले कास्की-३ ले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सुशासन प्रवर्द्धन, पूर्वाधार विकास, पर्यटन विस्तार र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखिएको छ। पार्टीले “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय संकल्पलाई व्यवहारमा उतार्दै मुलुकको स्वाधीनता, सार्वभौमिकता र संविधानको संरक्षणसहित जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको जनाएको छ।

वैरागीले विगतमा सुरु भएका अधुरा विकास आयोजनाहरूलाई पूर्णता दिने तथा नयाँ सम्भावनायुक्त परियोजनाहरू अघि बढाउने वाचा गरे। स्थानीय मतदाताले विकास, रोजगारी, पूर्वाधार र पर्यटन प्रवर्द्धनका विषयमा चासो राखेका थिए भने उनले ती सबै विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याए। एमालेले वैरागीलाई विजयी गराउन आह्वान गर्दै कास्की-३ मा विकासको गति तीव्र बनाउने दाबी गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: