पोखरा-१६ बाट रश्मि आचार्यको उद्घोष: “पहिलो दिनबाटै काम सुरु गर्छु”

Share:

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार रश्मि आचार्यले निर्वाचित भएको पहिलो दिनदेखि नै प्रतिबद्धता कार्यान्वयनमा जाने घोषणा गरेका छन्। शुक्रबार पोखरा-१६ को दीपबाट मतदाता साक्षात्कार कार्यक्रम सुरु गर्दै आचार्यले भने, “निर्वाचित भएको पहिलो दिनबाट सुनौलो इतिहास निर्माणको अध्याय प्रारम्भ हुनेछ। हामी योजना र प्रतिबद्धता मात्रै होइन, स्पष्ट कार्यान्वयन मार्गचित्रसहित जनतामाझ आएका छौं।” उनले विगतका कमजोरीबाट पाठ सिक्दै विश्वास मजबुत बनाउने अठोट व्यक्त गरे।

आचार्यले अर्मलाकोटलाई पर्यटकीय क्षेत्र घोषणा गरी आवश्यक पूर्वाधार विकाससहित पोखराका अन्य गन्तव्यसँग जोड्ने योजना अघि सारे। महेन्द्र गुफा, चमेरे गुफा र सेती नदी आसपासको क्षेत्रलाई सबलीकरण र प्रभावकारी प्रचारप्रसारमार्फत थप उत्पादनशील बनाउने उनको जोड छ।

उनले भने, “महत्वपूर्ण गन्तव्यको पहिचान, सबलीकरण र प्रवर्द्धनबिना पोखराको पर्यटनले अपेक्षित परिणाम दिन सक्दैन। अपेक्षा बाँडेर मात्रै हुँदैन, परिणाम दिने योजना चाहिन्छ।”

अर्मलाकोट, र्याले, पात्ले, दाद्रे, डिहि, टाड बिस्यौना, कुर, माझकुना, घोकुर्ना, छहरेपानी, जोगिमणी, जुम्लेटी र घार्मीखोलालगायतका बस्तीमा पुगेर मतदाता भेट्दै आचार्यले आफू कास्की-२ कै स्थानीय भएको उल्लेख गर्दै “सँगसँगै विकास, एकसाथ विकास” को नीति अवलम्बन गर्ने प्रतिबद्धता दोहोर्‍याए।

कार्यक्रममा एमालेका वरिष्ठ नेता तथा विभिन्न तहका नेता-कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको एमाले पोखरा-१६ का अध्यक्ष यमनकाजी गुरुङले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: