
पोखरा। पोखरा विश्वविद्यालयको २१ औं दीक्षान्त समारोहमा ६ हजार ६ सय २२ विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयकी कुलपति समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले विद्यार्थीलाई दीक्षित गराउँदै विभिन्न पदकसमेत वितरण गरिन्। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशभित्रै अवसर र सम्भावना पहिचान गर्न विश्वविद्यालयहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताइन्। युवाहरू राजनेता, प्रशासक, नीति निर्माता र समाज रूपान्तरणका अभियन्ता भएको उल्लेख गर्दै उनले नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्न आग्रह गरिन्।
“आर्थिक समृद्धि र मानव कल्याणसँग नजोडिएको ज्ञान सन्दर्भहीन बन्दै जान्छ,” उनले भनिन्। दीक्षित हुनु शैक्षिक यात्राको अन्त्य नभई जीवनको नयाँ प्रस्थानविन्दु भएको उनको धारणा थियो। ठूलो संख्यामा युवा विदेशिनु चिन्ताको विषय भएको भन्दै उनले कारण र समाधान खोज्न जोड दिइन्।
समारोहकी प्रमुख अतिथि चाँदनी जोशीले दीक्षित हुनु व्यक्तिगत उपलब्धि मात्र नभई सामूहिक आशा र जिम्मेवारीको क्षण भएको बताइन्। ज्ञान, सीप र मूल्यलाई समाजप्रति समर्पित गर्न उनले आह्वान गरिन्। सानो देशले पनि ज्ञानका माध्यमबाट विश्व रंगमञ्चमा प्रभाव जमाउन सक्ने उनको भनाइ थियो।
विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज जोशीले छिट्टै १३ नयाँ शैक्षिक कार्यक्रम सुरु गर्ने योजना रहेको जानकारी दिए। रजिष्ट्रार सहप्राडा अजय थापाका अनुसार हाल विश्वविद्यालयमा ७४ कार्यक्रम सञ्चालनमा छन् र ३७ हजार ५ सय ९३ विद्यार्थी अध्ययनरत छन्। मधेश र कर्णाली बाहेक पाँच प्रदेशमा ६६ आंगिक तथा सम्बन्धनप्राप्त संस्था सञ्चालनमा छन्।
प्रधानमन्त्री कार्कीले गण्डकी प्रदेशमा प्रतिनिधिसभा निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिइन्। प्रदेशस्तरीय सुरक्षा बैठकपछि उनी हेलिकोप्टरमार्फत लुम्बिनी प्रस्थान गरिन्। बैठकमा प्रदेशका उच्च अधिकारीहरूले चुनावी तयारीबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीले निष्पक्ष र धाँधलीरहित वातावरण सुनिश्चित गर्न निर्देशन दिइन्।
साढे २ घन्टा ढिलाइ, सहभागी निराश
दीक्षान्त समारोह ११ बजेका लागि तय भए पनि प्रधानमन्त्री कार्की साढे १ बजे मात्र कार्यक्रमस्थल पुगेपछि करिब १० हजार सहभागीले साढे २ घन्टा प्रतीक्षा गर्नुपरेको थियो। बिहान पोखरा आइपुगेकी उनी मुस्ताङको मुक्तिनाथ दर्शन र सुरक्षा बैठकमा सहभागी भई ढिलो पुगेकी थिइन्।
ढिलाइप्रति केही विद्यार्थी तथा अभिभावकले असन्तोष व्यक्त गरेका छन्। दीक्षित विद्यार्थी आशा शर्माले तोकिएको समयमा उपस्थित नहुनु अनुचित भएको टिप्पणी गरिन्। “दीक्षान्तमा गरिएको व्यवहारले हामीले के सिक्ने ?” उनले प्रश्न गरिन्।
