पत्रकारका लागि साइबर सुरक्षा तालिम सुरु, ७० सञ्चारकर्मी सहभागी

Share:

पोखरा। डिजिटल युगमा बढ्दो साइबर अपराधको जोखिमलाई मध्यनजर गर्दै कास्कीमा क्रियाशील पत्रकारहरूका लागि तीन दिने साइबर सुरक्षा तालिम सुरु भएको छ। नेपाल पत्रकार महासंघ कास्की को आयोजना, प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश को सहयोग तथा क्यान महासंघ कास्की को प्राविधिक सहकार्यमा तालिम सञ्चालन गरिएको हो।

तालिमको शुभारम्भ गर्दै कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले डिजिटल प्रविधिको तीव्र विस्तारसँगै साइबर अपराध गम्भीर चुनौतीका रूपमा उभिएको उल्लेख गरिन्। पत्रकारलाई लक्षित गरी सञ्चालन गरिएको यस्तो तालिमले सञ्चार क्षेत्र मात्र नभई समाज र राज्यसंयन्त्रलाई नै डिजिटल सुरक्षा अपनाउन टेवा पुग्ने उनको भनाइ थियो।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले तालिमले पत्रकार स्वयंलाई डिजिटल माध्यमबाट हुने ठगी तथा सुरक्षाजन्य जोखिमबाट जोगिन व्यावहारिक ज्ञान प्रदान गर्ने विश्वास व्यक्त गरे।

त्यसैगरी क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष गुणानिधि पाण्डे ले साइबर सुरक्षा अहिलेको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै पत्रकार महासंघसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

तालिममा गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स का उपप्राध्यापक सन्तोष पन्थ ले सहजीकरण गर्दै सामान्य लापरबाहीकै कारण धेरै व्यक्ति साइबर अपराधको सिकार बन्ने गरेको बताए। उनले इन्टरनेटमार्फत हुने ह्याकिङ, डाटा चोरी, भाइरस आक्रमण र अनधिकृत पहुँचजस्ता जोखिमबाट जोगिने उपायबारे प्रशिक्षण दिएका छन्।

बैंकिङ डिजिटल सुरक्षाबारे नबिल बैंक गण्डकी प्रदेश प्रमुख हरि ढकाल ले सहजीकरण गरेका छन्। तीन दिनसम्म सञ्चालन हुने तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध ७० जना पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको छ।

माधवप्रसाद बरालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत उपाध्यक्ष माधवप्रसाद रेग्मी र सञ्चालन सहसचिव मधु अधिकारी ले गरेका थिए। डिजिटल युगमा सुरक्षित र जिम्मेवार पत्रकारिताको अभ्यासलाई सुदृढ बनाउने उद्देश्यसहित सुरु गरिएको यो तालिमलाई सञ्चार क्षेत्रका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: