
पोखरा । उद्यमी तथा व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा भोग्ने समस्या पहिचान गरी समाधान खोज्ने उद्देश्यसहित लेखनाथ उद्योग वाणिज्य संघमा ‘उद्यम क्लिनिक’ सञ्चालन गरिएको छ।
पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रको आयोजना तथा संघको समन्वयमा आइतबार कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले निजी क्षेत्रका व्यवसायीहरूले भोगिरहेका विविध समस्या समाधानका लागि क्लिनिकको अवधारणा ल्याइएको बताइन्।
उनले आफ्ना व्यवसायमा देखिएका जटिलता, अन्योल र चुनौतीहरू निर्धक्कका साथ राख्न आग्रह गर्दै यस्तो पहलले समग्र व्यावसायिक वातावरण सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
त्यसैगरी व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले उद्यममा देखिने अवरोध वा ‘रोग’ पहिचान गरी उपचार गर्ने उद्देश्यले क्लिनिक सञ्चालन गरिएको जानकारी दिए। “उद्यमलाई स्वस्थ र दिगो बनाउन समस्या पहिचान र समाधान अपरिहार्य छ,” उनले भने।
उनका अनुसार केन्द्रले यसअघि पनि व्यवसाय प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि निजी क्षेत्रसँग अझ निकट सहकार्य र प्रत्यक्ष संवादका लागि ‘उद्यम क्लिनिक’ सुरु गरिएको हो।
सो अवसरमा पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले व्यवसाय प्रवद्र्धन केन्द्रले उपलब्ध गराउँदै आएका सेवा तथा सहुलियतबारे जानकारी गराएका थिए।
उद्यमीहरूलाई मार्गदर्शन, परामर्श र समस्या समाधानमा प्रत्यक्ष सहयोग गर्ने लक्ष्यसहित सञ्चालन गरिएको ‘उद्यम क्लिनिक’ ले लेखनाथ क्षेत्रका व्यवसायीहरूमा नयाँ उत्साह र आत्मविश्वास थप्ने अपेक्षा गरिएको छ।
