
पोखरा । कास्की जिल्लाका विभिन्न स्थानमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाइएको भन्ने जनगुनासोपछि प्रहरीले बिहानै चेकिङ अभियान सञ्चालन गर्दै ६ जना चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज बिहान करिब ४ बजेदेखि ६ बजेसम्म वडा प्रहरी कार्यालय रामबजार, कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी चालकहरूमाथि जाँच गरेको थियो।
चेकिङका क्रममा ६ जना चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा परेकामध्ये धादिङ, कास्की, पर्सा र स्याङ्जा जिल्लाका बस तथा हाइस चालकहरू रहेका छन्।
प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षालाई प्राथमिकता दिँदै यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ। मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनु कानुनविपरीत मात्र नभई यात्रु र सर्वसाधारणको ज्यान जोखिममा पार्ने कार्य भएकाले कडाइका साथ निगरानी गरिने प्रहरीको चेतावनी छ।
प्रहरीले सुरक्षित यात्रा सुनिश्चित गर्न सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ।
