म कास्की-१ को नसा-नसा बुझ्छु, विकासको जिम्मा मलाई दिनुस्-अधिकारी

Share:

पोखरा । कास्की क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले पर्यटकीय सहर पोखराको गरिमा बढाउन आफूले अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माणमा विशेष पहल गर्ने घोषणा गरेका छन्। आइतबार पोखरा महानगरपालिका-२६ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

पोखरामा ठूला सभा-सम्मेलनका लागि हलको अभाव रहेको चर्चा गर्दै अधिकारीले पोखरा-२६ कै सिलिबेमा अत्याधुनिक सम्मेलन केन्द्र बनाउने आफ्नो सोच रहेको बताए। “अहिले एक हजार जना अट्ने व्यवस्थित हलको अभावमा खुला चौरमा कार्यक्रम गर्नुपर्ने बाध्यता छ,” उनले भने, “पर्यटनको राजधानीमा एउटा भव्य अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन म र मेरो पार्टीले पूर्ण शक्ति लगाउनेछौँ।”

आफ्नो निर्वाचन क्षेत्रका सडक, शिक्षा, स्वास्थ्य र सिँचाइका समस्याबारे आफू पूर्ण जानकार रहेको बताउँदै उनले अधुरा काम पूरा गर्ने र नयाँ पूर्वाधार निर्माण गर्ने योजना सुनाए।

अधिकारीले पोखरामा आर्थिक गतिविधि बढाउन ‘औद्योगिक ग्राम’ निर्माणको अवधारणा समेत अघि सारेका छन्। कोरला नाका र कालीगण्डकी करिडोरको उपयोग गर्दै पोखरालाई व्यापारिक केन्द्र बनाउन सकिने उनको तर्क छ।

कमेन्ट गर्नुहोस्
Share: