
पोखरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कास्की जिल्लामा सुरक्षा प्रबन्ध कडाइका साथ लागू गरिएको छ। मतदानको दिन नजिकिँदै गर्दा कुनै पनि सुरक्षा कमजोरी हुन नदिन एकीकृत निर्वाचन सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको जिल्ला प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार निर्वाचन सुरक्षाका लागि चारवटै सुरक्षा निकाय परिचालित गरिएका छन्। जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गर्दै सुरक्षा विश्लेषणका आधारमा रणनीति तयार गरेको छ। मतदानस्थलहरूको नियमित अनुगमन भइरहेको र आवश्यकताअनुसार सुरक्षा व्यवस्था थप सुदृढ गरिएको प्रशासनको भनाइ छ।
निर्वाचन सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति खटिएको छ। जिल्लाका तीन निर्वाचन क्षेत्रमा नेपाली सेनाले तीनवटा सुरक्षा बेस स्थापना गरी निगरानी तीव्र बनाएको छ भने सशस्त्र प्रहरी बलले पनि छुट्टै सुरक्षा बेस खडा गरी परिचालन बढाएको छ।
जिल्ला सुरक्षा समितिका अनुसार नेपाली सेनाबाट ४०० भन्दा बढी सुरक्षाकर्मी परिचालित छन्। सशस्त्र प्रहरी बलबाट करिब ५०० जना खटिएका छन्। नेपाल प्रहरीका ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालनमा छन्। थप २,३०३ जना निर्वाचन प्रहरी मतदान सुरक्षामा खटिनेछन्।
पोखरा महानगरपालिकामा नेपाल प्रहरीका चार प्रहरी निरीक्षकको कमान्डमा मोबाइल टोली परिचालन गरिएको छ भने अन्य चार स्थानीय तहमा एक/एक जना प्रहरी निरीक्षकको नेतृत्वमा मोबाइल टोली सक्रिय छ। एकीकृत सुरक्षा योजनाअनुसार पहिलो घेरा (भित्री सुरक्षा) मा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो तथा बाहिरी घेरामा नेपाली सेना खटिनेछन्।
कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल ४९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कास्की-१ र २ मा १७/१७ तथा कास्की-३ मा १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। जिल्लामा १५३ मतदानस्थल रहेका छन् भने ३ लाख ८ हजार ५७२ मतदातासहित कास्की गण्डकी प्रदेशकै सबैभन्दा धेरै मतदाता भएको जिल्ला हो।
सुरक्षा निकायले नियमित गस्ती, निगरानी र सूचना संकलनलाई तीव्रता दिँदै सुरक्षित र व्यवस्थित मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रशासनले मतदातालाई निर्भय भई आफ्नो मताधिकार प्रयोग गर्न अपिलसमेत गरेको छ।
