‘आशा मर्न दिन्न’: माछापुच्छ्रेमा वैरागीको घरदैलो, सडक र पर्यटन विकासमा जोड

Share:

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार दामोदर पौडेल ‘वैरागी’ले माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। बुधबार उनले घलेल, खोराको मुख, ल्वाङ, लाहाचोक र घाचोकका बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गरे।

स्थानीयवासीले विशेष गरी होमस्टे प्रवर्द्धनलाई प्रभावकारी बनाउन सडक पूर्वाधार सुधारको माग गरेका छन्। पर्यटक सहज रूपमा आवतजावत गर्न सक्ने सडक निर्माण, पर्यटनमैत्री नीति तथा दीगो विकास योजनालाई प्राथमिकता दिनुपर्ने सुझाव उनीहरूले राखेका थिए।

विहानैदेखि टोलबस्तीमा पुगेर स्थानीयका गुनासा सुनेका वैरागीले आर्थिक विकासलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता जनाए। “गाउँ चिनेको छु, समाज बुझेको छु । आशा मर्न दिँदिनँ,” उनले भने, “आर्थिक विकासबिना गरिबी न्यूनीकरण, युवा पलायन रोकथाम, शिक्षा(स्वास्थ्यमा लगानी वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माण सम्भव छैन।”

उनले एमालेसँग काम गरेर देखाएको अनुभव र इतिहास रहेको उल्लेख गर्दै सडक, शिक्षा, पूर्वाधार र समग्र विकासका क्षेत्रमा निरन्तरता आवश्यक रहेको बताए। अधुरा योजना पूरा गर्ने र सुरु गरिएका कार्यक्रमलाई निष्कर्षमा पुर्‍याउने उनको भनाइ थियो।

वैरागीले अन्नपूर्ण आधार शिविर र फेवाताललगायत कास्की-३ का विभिन्न क्षेत्रमा देखिएका जलवायु परिवर्तन, भू-संरक्षण तथा बाढीपहिरोका समस्यामा विशेष पहल गर्ने बताए। स्थानीय आवश्यकता र दीगो विकासलाई केन्द्रमा राखेर अघि बढ्ने उनको विश्वास छ।

कमेन्ट गर्नुहोस्
Share: