
पोखरा । कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले जिल्लामा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। नेपाल पत्रकार महासंघले पोखरामा आयोजना गरेको निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहितासम्बन्धी कार्यक्रममा बोल्दै उनले निर्वाचन सफल पार्नु सबै पक्षको साझा दायित्व भएको बताए। कास्की जिल्ला अदालतका न्यायाधीशसमेत रहेका बेल्वासेले लोकतन्त्रको मेरुदण्ड नै निर्वाचन भएको उल्लेख गर्दै निर्वाचन बिथोल्ने कुनै पनि गतिविधिले लोकतन्त्रलाई धरापमा पार्ने चेतावनी दिए।
सामाजिक सञ्जालको भरमा परेर गलत सूचना सम्प्रेषण नगर्न आग्रह गर्दै उनले निर्वाचनलाई मर्यादित र विश्वसनीय बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारे। अन्य जिल्लाको तुलनामा कास्कीमा आचारसंहिता उल्लंघनका घटना न्यून रहेको बताउँदै माइकिङमार्फत प्रचार गर्ने उम्मेदवारलाई सचेत गराउने काम भइरहेको जानकारी दिए।
महासंघकी अध्यक्ष निर्मला शर्माले निर्वाचन आचारसंहिता पालना गरी जिम्मेवार ढंगले रिपोर्टिङ गर्न पत्रकारलाई आग्रह गरिन्। “पत्रकारले दिने सत्य–तथ्य सूचनाले नागरिकलाई सचेत र जिम्मेवार बनाउँछ,” उनले भनिन्। सञ्चार माध्यम संकटमा रहे पनि पत्रकारले आफ्नो पेशागत दायित्वबाट पछि हट्न नहुनेमा उनले जोड दिइन्।
प्रदेश निर्वाचन कार्यालय गण्डकीका निर्वाचन अधिकारी नारायण ढकालले प्रदेशका ११ वटै जिल्लामा निर्वाचन सामग्री पुगिसकेको र मतदान केन्द्रतर्फ पठाउने तयारी भइरहेको जानकारी दिए। समाचार संकलनमा पत्रकारलाई कुनै अवरोध नहुने उल्लेख गर्दै उनले आचारसंहिताभित्र रहेर सत्य–तथ्य रिपोर्टिङ गर्न आग्रह गरे।
कार्यक्रममा महासंघका सचिव प्रकाश धौलाकोटी, केन्द्रीय सदस्य कृष्ण केसी, गण्डकी अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधवप्रसाद बराल, गण्डकी महासचिव जमुना शर्मा लगायतले भ्रामक समाचारले पत्रकारिताको विश्वसनीयतामाथि गम्भीर असर पर्ने चेतावनी दिए।
गण्डकी प्रदेशका विभिन्न जिल्लाका अध्यक्ष तथा पोखराका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको कार्यक्रममा निर्वाचन तथा पत्रकार आचारसंहिताबारे विस्तृत जानकारी गराइएको थियो।
