‘प्रिय जेनजी, अब तपाईंहरूको पालो’ : विद्रोहपछि उदाएका बालेन प्रधानमन्त्रीको दौडमा अग्रपंक्तिमा

179
0
Share:

पोखरा । गत भदौमा युवाको नेतृत्वमा भएको ऐतिहासिक विद्रोहपछि ७७ जनाको ज्यान गएको घटनाले देश स्तब्ध बन्यो। त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए। त्यसैबीच काठमाडौंका मेयर तथा पूर्व र्‍यापर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत लेखेका थिए, “प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेछ। तयार रहनुहोला।”

पाँच महिनापछि, फागुन २१ को चुनाव नजिकिँदै गर्दा बालेनलाई भावी प्रधानमन्त्रीका प्रमुख दाबेदारका रूपमा हेरिन थालिएको छ। २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको मेयर जितेर औपचारिक राजनीतिक यात्रा सुरु गरेका उनले छोटो समयमै राष्ट्रिय राजनीति हल्लाएका छन्।

नेपालमा भरपर्दो सर्वेक्षण नहुँदा पनि विश्लेषकहरू उनलाई परम्परागत राजनीतिक शक्तिहरूलाई चुनौती दिने अनुहारका रूपमा चित्रित गर्छन्। संवैधानिक कानुनविद् विपिन अधिकारी भन्छन्, “काठमाडौँतिर गुड्ने बसमा ‘बालेनको सहर जाँदैछौँ’ भन्ने स्टिकर टाँसिएको देखिन्छ, यो उनको लोकप्रियताको संकेत हो।”

र्‍याप संगीतबाट स्थापित पहिचान बोकेका बालेनले त्यही विद्रोही छविलाई राजनीतिक पुँजीमा रूपान्तरण गरेका छन्। चीन र भारतबीच अवस्थित नेपालमा वर्षौँदेखि स्थापित दलहरूको प्रभाव रहँदै आएको छ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई चीनतर्फ झुकाव भएको मानिन्छ भने नेपाली कांग्रेस भारतनिकट ठानिन्छ।

बालेन आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले भने चुनावी घोषणापत्रमा दुई छिमेकीबीच ‘सन्तुलित परराष्ट्र सम्बन्ध’ कायम गर्ने अडान लिएको छ। मेयरका रूपमा उनले फोहोर व्यवस्थापन, सहरी पूर्वाधार र स्वास्थ्य सेवा सुधारमा ध्यान दिएका थिए। यद्यपि, ठेला व्यापारीको सामान जफत र सुकुम्बासी हटाउने क्रममा बल प्रयोग गरेको आरोपमा मानव अधिकार वाचलगायतबाट आलोचना पनि खेपे।

मुख्यधारका सञ्चारमाध्यमभन्दा टाढै रहने बालेन सामाजिक सञ्जालमार्फत ३५ लाखभन्दा बढी फलोअर्ससँग प्रत्यक्ष संवाद गर्छन्। चुनावी अभियानमा कालो चस्मा र फुलेको दारीसहितका तस्बिरहरू पोस्ट गर्दै उनी युवामाझ ‘परिवर्तनको प्रतीक’का रूपमा प्रस्तुत भइरहेका छन्।

आयुर्वेदिक चिकित्सक पिता र गृहिणी आमाका छोरा बालेन सानैदेखि कविताप्रेमी थिए। पछि र्‍याप संगीततर्फ आकर्षित हुँदै टुपाक शकुर र ५० सेन्टबाट प्रभावित भए। सिभिल इन्जिनियरिङ अध्ययनपछि दक्षिण भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका उनले २०१९ मा सार्वजनिक गरेको ‘बलिदान’ गीत युट्युबमा करोडौँ पटक हेरिएको छ।

गत डिसेम्बरमा औपचारिक रूपमा राजनीतिमा प्रवेश गर्दै रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका उनले १ करोड २० लाख रोजगारी सिर्जना, पाँच वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने र जीडीपी १०० अर्ब डलर बनाउने लक्ष्य सार्वजनिक गरेका छन्।

यद्यपि विश्लेषक पुरञ्जन आचार्य भन्छन्, “लोकप्रियता मात्र पर्याप्त हुँदैन। प्रणाली बदल्न सक्षम टिम र विज्ञ चाहिन्छ। नत्र उनी पनि पुरानै संरचनाले सीमित पार्न सक्छ।” विद्रोही र्‍यापरदेखि सम्भावित प्रधानमन्त्रीसम्मको यात्रामा रहेका बालेन अब साँच्चिकै ‘जेनजी’ पुस्ताको नेतृत्व सम्हाल्न सक्छन् कि सक्दैनन्, फागुन २१ को जनादेशले त्यसको उत्तर दिनेछ।

कमेन्ट गर्नुहोस्
Share: