चुनावको महासंग्राम: कसको पल्ला भारी ? दलहरूका सिटको अंकगणित!

259
0
Share:

काठमाडौं । आसन्न निर्वाचनको मिति नजिकिँदै गर्दा देशको राजनीतिक तापक्रम ह्वात्तै बढेको छ। यो पटक कुन दल सबैभन्दा ठुलो बन्ला र कसले कति सिट ल्याउला ? भन्ने कौतुहलता सर्वत्र छ। यसैबीच, प्रमुख राजनीतिक दलहरूका आन्तरिक विश्लेषण र प्रक्षेपणहरू सार्वजनिक भएका छन्, जसले चुनावी नतिजा सोचेभन्दा फरक हुन सक्ने संकेत गरेका छन्।

नेपाली कांग्रेस: ‘१०० पार’ को दाउ, तर गढ जोगाउनै मुस्किल ?

नेपाली कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी १०६ सिट ल्याउने लक्ष्यसहित ‘१०० पार’ को नारा अघि सारेको छ। गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा पार्टीको जनलहर बढेको कांग्रेसको दाबी छ। मधेसमा पहिलो दल बन्ने र बागमतीमा बलियो पकड बनाउने उसको रणनीति छ। यद्यपि, आन्तरिक रिपोर्टले भने विगतको ८९ सिटबाट १० देखि १५ सिट घट्न सक्ने डर देखाएको छ।

एमालेलाई ‘घण्टी’ को डर: खुम्चिएला त सूर्य ?

नेकपा एमालेले प्रत्यक्षमा ५३ सिट र समानुपातिकमा २० लाख मत ल्याउने प्रक्षेपण गरेको छ। तर, एमालेका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुख्य चुनौती बनेको छ। बागमतीमा सुधार गर्ने दाबी गरे पनि मधेस र लुम्बिनीमा एमालेको मत प्रभावित हुन सक्ने देखिन्छ। केही विश्लेषणले एमाले ३० देखि ४० सिटमा खुम्चिन सक्ने प्रक्षेपण समेत गरेका छन्।

माओवादी केन्द्र: विरासत जोगाउने कसरत

नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ३६ सिटको दाबी गरे पनि यथार्थमा १० सिटको वरपर मात्र रहने प्रक्षेपण छ। पार्टीले कर्णाली र सुदूरपश्चिमका आफ्ना पुराना गढहरूमा शक्ति केन्द्रित गरेको छ। प्रचण्ड र वर्षमान पुन जस्ता प्रभावशाली नेताहरूको क्षेत्र सुरक्षित देखिए पनि अन्यत्र माओवादीका लागि चुनावी बाटो सहज देखिँदैन।

रास्वपाको ‘घण्टी’ लहर: ८० देखि १०० सिटको दाबी !

यो निर्वाचनको सबैभन्दा रोचक पक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ। रास्वपाले प्रत्यक्षमा ५० सिट र समानुपातिकमा ५० लाख मत ल्याउने महत्वकाङ्क्षी दाबी गरेको छ। काठमाडौं उपत्यका, चितवन र लुम्बिनीमा ‘घण्टी’ को कडा लहर देखिएको छ। आन्तरिक रिपोर्टहरूले रास्वपाले ८० देखि १०० सिटसम्मको लक्ष्य राखेको देखाए पनि नतिजा कस्तो आउला भन्नेमा अन्य दलहरू सशंकित छन्।

दाबी एकातिर, यथार्थ अर्कोतिर ?

सबै दलले आफूलाई पहिलो शक्ति दाबी गरिरहँदा मतदाताको मन कता छ भन्ने कुरा निर्वाचनको दिनले नै फैसला गर्नेछ। दलहरूका यी आन्तरिक प्रक्षेपणले कार्यकर्तामा उत्साह त भरेका छन्, तर बास्तविक नतिजाले कतिपय स्थापित दलहरूको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा गर्न सक्ने विश्लेषण गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: