कास्की-२ मा १७ उम्मेदवारको भिडन्त : एमाले गढमा त्रिपक्षीय टक्कर

Share:

पोखरा। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कास्की क्षेत्र नम्बर २ मा १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। परम्परागत रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभाव क्षेत्र मानिने यस क्षेत्रमा यसपटक कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

अघिल्लो निर्वाचनमा एमालेकी नेत्री विद्या भट्टराई विजयी भएकी थिइन्। यसअघि सोही पार्टीका रवीन्द्र अधिकारी २०६४ र २०७० को संविधानसभा निर्वाचन तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा लगातार विजयी भएका थिए।

पछिल्लो निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धनको साथमा भट्टराई विजयी भएकी थिइन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेल र नेपाली कांग्रेसका श्रीनाथ बराल क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका थिए। यसपटक भने त्रिपक्षीय भिडन्त हुने संकेत देखिएको छ।

रास्वपाले एमालेको प्रभाव तोड्ने दाबी गरेको छ भने कांग्रेसले अघिल्लो निर्वाचनमा गठबन्धनका कारण आफ्नै चुनाव चिह्न प्रयोग गर्न नपाएको गुनासो गर्दै यसपटक आफ्नै चिह्नमा मत माग्न पाउँदा प्रतिस्पर्धा सहज भएको बताएको छ।

मतदातामाझ एमाले, कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच नै मुख्य प्रतिस्पर्धा हुने चर्चा छ। यस क्षेत्रमा एमालेका रश्मि आचार्य, कांग्रेसका माधव बास्तोला, नेकपा (एकीकृत)का हेमबहादुर थापा, रास्वपाका उत्तमप्रसाद पौडेल, उज्यालो नेपाल पार्टीका कुशल गुरुङ र राप्रपाका हेमजङ गुरुङसहित १७ जना उम्मेदवार चुनावी दौडमा छन्।

गाउँबस्तीमा मत माग्दै पुगेका उम्मेदवारहरूले भ्रष्टाचारमुक्त प्रशासन, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र समृद्धिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। भरतपोखरी क्षेत्रका चवादी, कुर्लिङ, सिङगारेवासलगायत गाउँबस्तीका मतदाताले आधारभूत पूर्वाधार निर्माण, सडक स्तरोन्नति, खानेपानी र कृषि सहजीकरणमा विशेष ध्यान दिन उम्मेदवारसँग आग्रह गरेका छन्।

एमालेको परम्परागत पकड, कांग्रेसको पुनरुत्थानको प्रयास र रास्वपाको उदयबीच कास्की-२ को निर्वाचन यसपटक विशेष चासोको विषय बनेको छ।

कमेन्ट गर्नुहोस्
Share: