
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने चौथो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ। प्रतियोगिताको खेलतालिका सार्वजनिक भएसँगै विद्यार्थी खेलाडीहरूमा उत्साह थपिएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा गुरुकुल विद्यासदन र स्टेप बाई स्टेप सेकेन्डरी स्कुल आमनेसामने हुनेछन्। फागुन १५ देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पोखरा रंगशालाको कर्भड हलमा आयोजना हुनेछ।
यस वर्ष प्लस टु तर्फ १६ टिम र कलेज तर्फ ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ ९हिसान० गण्डकीका अध्यक्ष डा. राम्जी शर्माका अनुसार प्रतियोगिता केवल जितका लागि मात्र नभई फुटबलको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको हो।
हिसानमा आबद्ध विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन्। प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरियल फुटबल क्लबले गर्दै आएको छ। क्लबका अध्यक्ष सञ्जय लिगले हिसान फुटसल प्रतियोगिताले नयाँ प्रतिभा पहिचान र उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए।
पुरस्कारतर्फ प्लस टु विजेताले नगद १ लाख रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५० हजारसहित मेडल र ट्रफी हात पार्नेछन्। त्यसैगरी कलेजतर्फ विजेताले नगद २० हजार तथा उपविजेताले नगद १० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताको पावर बाइका रूपमा त्टीभिएस मोटर कम्पनीको मोटरसाइकल रहेको छ भने सपोर्ट बाइमा सुजल डेरीको ‘सफल दूध’ रहेको आयोजकले जनाएको छ।
विद्यालयस्तरमै खेल संस्कृतिको विकास र प्रतिभा प्रस्फुटनलाई प्राथमिकता दिँदै आयोजना गरिएको प्रतियोगिताले गण्डकी प्रदेशमा फुटसल खेलप्रतिको आकर्षण अझ बढाउने विश्वास गरिएको छ।
